कवि कोइरालाको ‘सङ्स अफ स्वालोज’

कवि कोइरालाको ‘सङ्स अफ स्वालोज’


राष्ट्रपति विद्या भण्डारीले राजधानीमा हालै आयोजित एक कार्यक्रममा कवि तथा गीतकार एस.पी. कोइरालाको अंग्रेजी कविताहरुको संग्रह ‘सङ्स अफ स्वालोज’ को विमोचन गरिन् । सोही अवसरमा राष्ट्रपति भण्डारीले कवि कोइरालाको सोही काब्य कृतिमा आधारित रही चित्रकार अरुणा हिङ्माङद्वारा तयार पारिएको नौ दिने चित्रकला प्रदर्शनीको पनि उदघाट्न गरिन् ।

नेपाल आर्ट काउन्सिल, बबरमहलमा सिर्जनात्मक महिला समूह नेपालको आयोजनामा विमोचित कवि कोइरालाको चौथो कृति ‘सङ्स अफ स्वालोज’ उनको कविता संग्रह ‘गौँथलीहरूको गीत’को अनुवाद हो ।

कार्यक्रममा अतिथि राष्ट्रकवि माधव घिमिरेले कवि तथा गीतकार कोइरालाले आफ्ना कवितामा नवीन शैली प्रस्तुत गरेको उल्लेख गर्दै पुस्तकमा सामाजिक चिन्तन र सिर्जनाका गीत सम्प्रेषित भएको बताए । कार्यक्रमका अर्का अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले यस अंग्रेजी कविता संग्रहले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन मार्गदर्शकको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर तथा पुस्तकका स्रष्टा एस.पी. कोइरालाले पनि बोलेका थिए । लामो समय प्रशासनिक सेवामा बिताएका कवि एस. पी. कोइराला (शंकर प्रसाद कोइराला) पूर्वमन्त्री पनि हुन् ।

कार्यक्रमममा चित्रकार अरुणा हिङमाङले राष्ट्रपतिलाई आफ्नो विशेष चित्रकला कृति समर्पण गरिन् । चित्रकार हिङमाङको यो चौथो एकल चित्रकला प्रदर्शनी हो ।