सरकार विरुद्ध सेनाले हालेको मुद्दामा फाइल मगाउने आदेश

सरकार विरुद्ध सेनाले हालेको मुद्दामा फाइल मगाउने आदेश


सर्वोच्च अदालतले द्वन्द्वकालमा बलात्कारपछि हत्या गरिएकी काभ्रेकी मैना सुनार प्रकरणमा नेपाली सेनाका तर्फबाट प्राड (कानून) विभागले दर्ता गरेको मुद्दामा जिल्ला अदालतसँग फाइल मगाएको छ । आफ्ना अवकाश प्राप्त तीन जना सैनिक अधिकृतमाथि सुनाइएको जन्मकैद फैसला बदरको माग राख्दै सर्वोच्च अदालतमा प्राड विभागले भदौ १६ गते रिट दायर गरेको थियो ।

न्यायाधीशद्वय चोलेन्द्र शमसेर राणा र टंकबहादुर मोक्तानको इजलासले जिल्ला अदालतका फैसला, नेपाली सेना र सैनिक अदालतले गरेका कारबाही सम्बन्धी निर्णयहरुको फाइल मगाउने आदेश गरेको हो । नेपाली सेनाको तर्फबाट अख्तियार प्राप्त सेना प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कट्वाललाई वारेस राख्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले गत वैशाखमा जन्मकैद अर्थात २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । उक्त मुद्दामा सहभागी हुन अस्वीकार गरेका सैनिक अधिकारीको सर्मथनमा सेनाले सरकार विरुद्ध मुद्दा हालेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, महान्याधिवक्ताको कार्यालय, काभ्रे जिल्ला अदालत, मैना सुनारकी आमा देवी सुनार लगायतलाई विपक्षी बनाइ भदौमा रिट दर्ता भएको थियो । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले फाइल मगाएको हो । सैनिक अदालतमा मुद्दा किनारा भइ सजाय पाएको व्यक्तिलाई पुन थप सजाय भएको जिकिर उनीहरुको रिटमा गरिएको छ। दोहोरो खतराको सिद्धान्त विपरित काभ्रे जिल्ला अदालतले फैसला सुनाएको उनीहरुको जिकिर थियो ।