‘कीर्तिमान’ समय सुधारका लागि होइन, अन्तर्राष्ट्रिय ‘पदक’ जित्ने हुनुपर्छ

‘कीर्तिमान’ समय सुधारका लागि होइन, अन्तर्राष्ट्रिय ‘पदक’ जित्ने हुनुपर्छ


– श्रीविक्रम भण्डारी

– श्रीविक्रम भण्डारी
नेपालको परिप्रेक्ष्यमा खेलाडी बन्न जति सजिलो छ, उत्कृष्ट खेलाडी बन्न त्यति नै गाह्रो छ । अझ कीर्तिमानी खेलाडी बन्न त फलामकै चिउरा चपाउनुपर्छ । यस्तो अवस्थामा पनि नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका प्रतियोगितामा कीर्तिमान बनाउन सफल भएका छन् । जुन नेपालको लागि गर्विलो इतिहास बनेका छन् । सीमित साधनस्रोतका बाबजुद पनि नेपाली खेलाडी बनाएको कीर्तिमान आफैँमा तारिफयोग्य र मननयोग्य छ । जसले उचित प्रशिक्षण र प्रोत्साहन पाएको खण्डमा नेपालमा पनि उत्कृष्ट र कीर्तिमानी खेलाडी जन्मिन सक्ने सम्भावनाका ढोकालाई खोलिदिएका छन् । यो नेपालका लागि खुसी र सकारात्मक पाटो हो । यसर्थमा कि २१औँ शताब्दीमा पनि परम्परागत शैलीमा अर्थात् कछुवाको चालमा हिडिँरहेको नेपाली खेलकुदका लागि यो ठूलो उपलब्धि हो । अझ यसलाई ऐतिहासिक उपलब्धिभन्दा पनि अतिसयोक्ति हुँदैन ।

सर्वप्रथम कुनै पनि खेलाडीको उज्ज्वल भविष्यका लागि ‘कीर्तिमान’ आफैँमा महत्वपूर्ण हुन्छ । कीर्तिमानसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक जित्दाको शान कुनै युद्ध फतेह गरेकोभन्दा कम हुँदैन । एउटा अञ्जान खेलाडी राताराता राष्ट्रिय, अन्तर्राष्ट्रिय ‘हिरो’ बन्छ । नेपालमा पनि यस्ता खेलाडी जन्मिएका छन् जसले नेपालको भूगोललाई विश्व मानचित्रमा परिचित गराउन सफल भएका छन् । म्याराथन धावक वैकुण्ठ मानन्धर, तेक्वान्दो खेलाडी दीपक विष्ट, संगीना वैद्य र विधान लामा यसका ज्वलन्त उदाहरण हुन् । यी खेलाडीले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत कीर्तिमान कायम गरेका छन् । वैकुण्ठ मानन्धरले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा लगातार तीनपटक म्याराथनमा स्वर्ण पदक जितेर बनाएको कीर्तिमान आफैँमा कीर्तिमान बनेको छ । त्यस्तै म्याराथनमा मानन्धरले राखेको उत्कृष्ट समयको कीर्तिमान वर्तमान अवस्थासम्म दक्षिण एसियाली मुलुकका कुनै खेलाडीले तोड्न सकेका छैनन् । यसैगरी तेक्वान्दोका दीपक विष्टले लगातार दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ र साग) मा चारवटा स्वर्ण पदक जितेर राखेको कीर्तिमान अकल्पनीय कीर्तिमान बनेको छ । कीर्तिमान तोडिनकै लागि बन्छन्, तर यी दुई नेपाली खेलाडीले राखेको कीर्तिमान कहिले तोडिन्छ त्यो आफैँमा कीर्तिमानी प्रश्न बनेको छ ।

कीर्तिमानका प्रकार पनि छुट्टाछुट्टै हुन्छन् । कसैले पदक जितेर कीर्तिमान बनाउँछ भने कसैले समयमा सुधार गरेर । नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा पदक जितेरभन्दा समय सुधार गरेर धेरै राष्ट्रिय कीर्तिमान कायम भएको देखिन्छ । जसमा पौडी नम्बर एकमा पर्छ भने त्यसपछि एथलेटिक्स र भारोत्तोलन । नेपाली खेलकुदको इतिहास पल्टाउँदा यिनै खेलसँग सम्बन्धित खेलाडीले राष्ट्रियस्तरमा पटकपटक कीर्तिमान कायम गरेको देखिन्छ । पौडी नेपालको त्यस्तो खेल हो जुन खेलका खेलाडीले सबैभन्दा बढी राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्यसमा चित्रबहादुर गुरुङ, आनन्द लेप्चा, श्यामबहादुर गुरुङ, जयप्रकाश गुरुङ, पुष्पराज शाही, सैलेश राणा, एलिस श्रेष्ठ, चन्द्रसिंह महतो, आङदेन लामा, प्रसिद्धजंग शाह, लक्ष्मण श्रेष्ठ, शिरीष गुरुङ, रुना प्रधान, रुविना प्रधान, श्रेया धिताल, करिश्मा कार्की, शैला राणा, विविधा रिमाल, नयना शाक्य, लक्ष्मी गुरुङ, ओशिन भारती, स्तुति सिंह र गौरिका सिंह पर्दछन् । यी खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कीर्तिमान बनाएका हुन् । यो कीर्तिमान बनाउने क्रममा प्रायजसो सबै खेलाडीले आफ्नै देशको खेलाडीको कीर्तिमान भङ्ग गर्नुको साथै आफ्नो समयमा सुधार गरेको मात्र देखिन्छ । गौरिका सिंह यी खेलाडीको दाँजामा अब्बल देखिएकी छिन् । उनले राखेको कीर्तिमान तारिफयोग्य छ । जुन कुरा १२औँ सागमा गौरिकाले गरेको प्रदर्शन र जितेको पदकबाट पनि थाहा हुन्छ ।

त्यस्तै, एथलेटिक्सतर्फ रामकृष्ण चौधरी, आशाराम चौधरी, धनीराम चौधरी, प्रेम महत, गोपबहादुर अधिकारी, ज्ञानबहादुर बोहरा, राजेन्द्रबहादुर भण्डारी, हरिबहादुर रोकाय, वैकुण्ठ मानन्धर, खिमु गिरी, राजेन्द्र कुँवर, धीरेन्द्र चौधरी, लोकबहादुर अधिकारी, बालकृष्ण चौधरी, रुद्र भट्टराई, कृष्णबहादुर गिरी, सीताराम चौधरी, उजिरसिंह विष्ट, छविराम श्रेष्ठ, टंकबहादुर थापामगर, खुर्सद अहमद खाँ, डम्बरसिंह कुँवर, गंगाबहादुर शाही, देवीमाया पनेरू, कमला प्रसाईं, चन्द्रकला थापा, प्रमिला रिजाल, राजकुमारी पाण्डे, कान्छीमाया कोजु, निर्मला भारती, विष्णु काफ्ले, माया थापा, चन्द्रकला कामत, केसरी चौधरी, नारायणी थपलिया, मञ्जु श्रेष्ठ, सुजाता सुब्बा, लीलामाया थापा, वसन्त कुमाल चौधरी, सीता सेन, पद्मा चौधरी र चन्द्रकला लामगादे राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीमा पर्छन् । यसैगरी विगतमा भारोत्तोलनतर्फ सुरेन्द्र हमाल, जगदीश प्रधान, अशोक कार्की, सुनील जोशी, सञ्जय महर्जन, समसुद्दिन सिद्दिकी, राकेश रञ्जित, रोशन नकर्मी, मदन शिवभक्ति, ज्योति पौडेल, राममाया थापालगायत थुप्रै खेलाडीले राष्ट्रिय कीर्तिमान कायम गरे पनि वर्तमान अवस्थामा कमल अधिकारी, तारादेवी पुन, देवी चौधरी, दिनेश श्रेष्ठ र पुकार गुरुङ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीको लिस्टमा अग्रपङ्क्तिमा छन् ।

पछिल्लो समयमा नेपाली खेलकुदमा भित्रिएका ट्रायाथलन, साइक्लिङ र आर्चरीमा पनि राष्ट्रिय कीर्तिमान बन्न थालेका छन् । विगतदेखि वर्तमान अवस्थासम्मको नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने प्रायजसो कीर्तिमान पौडी, एथलेटिक्स र भारोत्तोलनका खेलाडीको वरिपरि मात्रै घुमेको देखिन्छ । यीबाहेक एसियाली खेलकुद प्रतियोगिता र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जितेर कीर्तिमान राख्ने तेक्वान्दो र करातेका खेलाडीको नाम सुन्न सकिन्छ । जुडो, उसु, सुटिङ, टेबुलटेनिस र बक्सिङ, फुटबलमा पनि पटकपटक साग गेममा पदक जितेर नेपाली खेलाडीले कीर्तिमान बनाउन सफल भएका छन् ।

तुलनात्मक रूपमा हेर्दा सर्वप्रथम कुन खेलाडीले कुन खेलमा कीर्तिमान बनायो त्यो महत्वपूर्ण हुन्छ । पौडी, एथेटिक्स र भारोत्तोलनमा कीर्तिमान बन्नु नौलो कुरा होइन । त्यसलाई खासै उपलब्धि पनि मान्न सकिँदैन । यसर्थमा कि पौडी र एथलेटिक्समा केही सेकेन्ड र भारोत्तोलनमा दुई–चार किलो भार बढी उठाएर कीर्तिमान बनाउँदैमा केही उपलब्धि हुनेवाला छैन । किनकि सबैभन्दा महत्वपूर्ण कुरा भनेको पदक जित्नु हो । त्यसकारण कीर्तिमान बनाउने खेलाडीले पदक जित्ने कीर्तिमान बनाए कि बनाएनन् त्यो महत्वपूर्ण कुरा हो । सबै खेलको विश्वरेकर्ड हुन्छ, ओलम्पिक रेकर्ड हुन्छ, एसियन रेकर्ड हुन्छ, र दक्षिण एसियाली रेकर्ड हुन्छ । हाम्रा खेलाडीले राष्ट्रिय कीर्तिमान बनाए, तर कुनस्तरको ? त्यसको मूल्याङ्कन र विश्लेषण हुनु जरुरी छ । यदि त्यो कीर्तिमानले दक्षिण एसियाली प्रतियोगितामा कांस्य पदक जित्ने हैसियत पनि राख्दैन भने त्यो अर्थहीन हुन्छ । त्यस्ता कीर्तिमान जति बने पनि समग्र खेलकुदको विकासमा खासै अर्थ राख्दैन । तसर्थ कीर्तिमान बनाउनु मात्रै सबैथोक होइन । राष्ट्रिय कीर्तिमान बनाएर पदक जित्नु राम्रो कुरा हो । त्यो कीर्तिमानको अन्तर्राष्ट्रियस्तरमा तुलना गर्दा नेपालले पदक जित्ने सम्भावना छ कि छैन त्यसमा निर्भर रहन्छ । तसर्थ कीर्तिमानले औचित्य पुष्टि गर्न सकेन भने उपलब्धिहीन हुन्छ । यसको अर्थ कीर्तिमानको कुनै औचित्य छैन भन्न खोजिएको होइन । कीर्तिमान भनेको कीर्तिमान हो । त्यो कुरा बिर्सनुचाहिँ हुँदैन । जुन खेलाडीले कीर्तिमान बनाएको छ त्यसलाई प्रोत्साहन गर्न सम्बन्धित निकाय चुक्नुहुँदैन ।

कीर्तिमानका लागि खेलाडीलाई प्रोत्साहन गरिन्छ कि गरिँदैन ?
राष्ट्रिय खेलकुद परिषद्ले समयसमयमा खेलाडीलाई कीर्तिमान खेलाडीभन्दा पनि अन्तर्राष्ट्रियस्तरमा पदक जित्नका लागि प्रोत्साहनस्वरूप विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, त्यसले निरन्तरता भने पाउन सकेको छैन । केवल अन्तर्राष्ट्रिय प्रतियोगिताको सन्मुखमा मात्र त्यस्ता विशेष प्रोत्साहनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । पछिल्लोपटक राखेपका पूर्वसदस्यसचिव युवराज लामाले डेढ वर्षसम्म निरन्तर रूपमा यस्तो कार्यक्रमको सञ्चालन गरे पनि तोकिएको समयमा १२औँ सागको आयोजना नहँुदा उक्त कार्यक्रम औचित्यहीन हुन पुगेको थियो । त्यो कार्यक्रम अपवादको रूपमा आए पनि नेपालमा खेलकुदको व्यवस्थित रूपमा कसरी विकास गर्ने त्यस्तो संस्कारको वर्तमान अवस्थासम्म विकास हुन सकेको छैन । साँचो रूपमा भन्नुपर्दा नेपाली खेलुकद हचुवाको भरमा चलेको छ । कहिलेसम्म चल्ने हो त्यसको पनि अत्तोपत्तो छैन । यस्तो अवस्थामा खेलअघि खेलाडीलाई कीर्तिमानी खेलाडी बनाउन कसले प्रोत्साहन गरेको होला सोझै अनुमान लगाउन सकिन्छ । साँचो कुरा के हो भने सर्वप्रथम खेलको विकासका लागि सम्बन्धित निकाय लाग्नुपर्छ । त्यसका लागि भौतिक पूर्वाधार प्रमुख कुरा हो । तर, विडम्वना ! २१औँ शताब्दीमा पनि नेपाली खेलकुद एउटा बुढो रंगशालाको भरमा चलेको छ । त्यो पनि महाभूकम्पका कारणले जर्जर अवस्थामा पुगेको छ । मुलुकको एउटै मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको त यस्तो हरिबिजोक छ भने खेलअघि कीर्तिमानी खेलाडी बनाउन कसले पहल गरेको होला त्यो सोझै अनुमान लगाउन सकिन्छ । तसर्थ समग्र खेलको विकासका लागि सरकार गम्भीर हुन आवश्यक भइसकेको छ । सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर यथाशीघ्र मुलुकभर आधुनिक रंगशाला र कभर्डहलको निर्माण गर्नुपर्छ । त्यसपछि कीर्तिमानी खेलाडी बनाउन कसैले प्रोत्साहन गर्नुपर्ने छैन, आफैँ कीर्तिमानी खेलाडी बन्नेछन् । यहाँ त सरकार, राखेप, प्रशिक्षक र खेलाडीसम्म आफ्नो तालसुरमा छन् । कसैलाई खेलकुदको बारेमा सोच्ने फुर्सद छैन । यस्तो अवस्थामा कीर्तिमानी खेलाडीको कुरा गर्नु भद्दा जोक मात्रै हुनेछ ।

नयाँ कीर्तिमानका लागि प्रभाव पार्ने तत्वहरू :
नयाँ कीर्तिमानका लागि प्रभाव पार्ने तत्वहरूमा प्रशिक्षण, प्रोत्साहन र खेलाडीको लगनशीलता प्रमुख कारक हुन् । यी तीन तत्वबिना खेलाडी पूर्ण खेलाडी बन्न सक्तैन । त्यसका लागि सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्ले उचित वातावरणको बनाउनुपर्छ । यो कुरोमा राखेप गम्भीर मात्र नभई निर्देशन र हस्तक्षेपकारी भूमिकामा पनि देखिनु उत्तिकै जरुरी छ । राखेप माउ संस्था भएकाले अग्रणी भूमिकामा पनि राखेप नै देखिनुपर्छ । अहिले खेलाडीहरूले खेल संस्कार छोडेको अवस्था छ । उनीहरूमा खेलकुदको विवाद र राजनीतिक हस्तक्षेपका कारण मनोवैज्ञानिक असर परेको छ । खेलकुदप्रति वितृष्णा जागेको अवस्था छ । तसर्थ खेलाडीहरूलाई खेलकुदबाट पलायन हुनबाट जोगाउन र अनुशासनको दायरामा ल्याउने प्रशिक्षकले विशेष भूमिका निभाउनुपर्छ । जस्तै, कस्तो भाँडा बनाउने र कस्तो आकारप्रकार दिने त्यसको जिम्मेवारी कुमालेलाई भएझैँ खेलाडीलाई पनि उत्कृष्ट र कीर्तिमानी बनाउन सम्बन्धित प्रशिक्षकले जिम्मेवारी लिनुपर्छ । खेलाडीको मस्तिष्कमा खेलकुदको भूत सवार गराएर एक योग्य र सक्षम खेलाडी तयार पार्ने रणनीतिमा लाग्नुपर्छ । वर्तमान अवस्थामा नेपाली खेलकुदलाई राजनीतिले गाँजेको घामजस्तै छर्लङ्ग छ । खेलाडीदेखि पदाधिकारी र प्रशिक्षकहरू कोही पनि राजनीतिबाट अछुतो छैनन् । यस्तो अवस्था नयाँ कीर्तिमानी खेलाडी जन्माउनु आफँैमा चुनौतीपूर्ण छ । तर, हातका पाँचै औँलामा भिन्नता भएझैँ खेलकुदमा पनि सबै एउटै सोचका खेलाडी, प्रशिक्षक र पदाधिकारी छैनन् । खेलकुदलाई माया गर्ने, खेलकुदमा आफ्नो भविष्य देख्ने, अनुशासनमा बस्ने, मिहिनेत गर्ने र राष्ट्रिय भावनाले ओपप्रोत भएका खेलाडीलाई मात्र पनि समेट्न सकियो भने ठूलो उपलब्धि र छलाङ मार्न सकिने अवस्था छ । असम्भव भन्ने केही कुरा हुँदैन, अर्जुनदृष्टिका साथ लक्ष्य भेदनमा निसाना लगाइयो भने एक–दुई मात्र नभई पचासौँ नयाँ कीर्तिमानी खेलाडी जन्मिने पक्का छ । त्यसका लागि राखेपको स्पष्ट भिजनचाहिँ हुनुपर्छ ।