प्रदेश नंं ४ को मुख्यमन्त्रीका लागि पृथ्बीसुब्बा र किरणको किचलो

प्रदेश नंं ४ को मुख्यमन्त्रीका लागि पृथ्बीसुब्बा र किरणको किचलो


मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको लागि प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट उम्मेदवारी दिएका बामगठबन्धनका पृथ्बीसुब्बा गुरुङ र किरण गुरुङबिच प्रदेश नं ४ को मुख्यमन्त्री को हुने भन्ने बिषयमा किचलो शुरु भएको छ ।

निर्वाचन नजिकिएसँगै पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङ र पार्टीका प्रदेश नं ४ का संयोजक किरण गुरुङ आ–आफुलाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सारेर प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

किरण गुरुङले नेकपा एमाले प्रदेश नं ४ को संयोजक आफु भएको कारण आफू नै मुख्यमन्त्रीको स्वभाविक दावेदार भएको बताउँछन् । उनी भन्छन्, ‘हिजो पार्टीले मलाई प्रदेश ४ को संयोजकको जिम्मेवारी दियो, स्वभाविक हिसाबले यो निर्वाचन जितेर नेकपा एमालेको प्रदेश सरकार बनेको अवस्थामा मुख्यमन्त्रीको जिम्मेवारी मैले पाउनुपर्छ ।’

किरण विस २०४८ र २०६४ सालमा तनहुँको क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन् । उनी अहिले नेपाली काँग्रेस तनहुँका पूर्व सभापति एवम् युवा नेता धुब्र वाग्लेसँग चुनावी मैदानमा छन् ।

यता लमजुङबाट प्रदेश (ख) बाट उम्मेदवार बनेका पृथ्वीसुब्बा आफु मुख्यमन्त्री हुने भनी लमजुङबासीसँग भोट मागिरहेका छन् । विस २०४६ सालमा निरन्तर नेकपा एमालेबाट निर्वाचन लड्दै आएका गुरुङ विस २०६४ सालमा मात्र विजयी हुन सकेका हुन् । विस २०४६, २०५१, २०५६ र २०७० सालको निर्वाचनमा उनी पराजित भएका थिए ।

नेकपा एमालेका कतिपय जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु लमजुङ एमाले पृथ्वीसुब्बाको पेवा हो भनेर भन्न थालेका छन् भने कतिपय कार्यकर्ताहरु एमाले लमजुङमा योग्य उम्मेद्वार हुँदाहुँदै नेकपा माओवादी केन्द्र मनाङका नेतालाई लमजुङमा ल्याएर उम्मेदवारी बनाएको भन्दै आलोचना समेत गरेका छन् ।

पृथ्वीसुब्बासँग नेपाली काँग्रेस लमजुङका पूर्व सभापति, शालीन र ईमान्दार नेता कृष्णप्रसाद कोइराला चुनावी मैदानमा छन् । कोइराला पार्टी सभापति हुँदा समग्र लमजुङको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन् ।

एमालेको तर्फबाट उम्मेद्वारी दिएका दुबै नेताले मुख्यमन्त्रीमा आफ्नो आफ्नो दाबी गरेपनि एमालेले आधिकारीक रुपमा कसैलाई मुख्यमन्त्री तोकको छैन । एमालेले तनहुँमा किरण गुरुङलाई मुख्यमन्त्रीको रुपमा प्रचार गरेर जिताउने र यसअघि पटक पटक पराजित बनेका नेता पृथ्बीसुब्बा गुरुङलाई पनि मुख्यमन्त्रीको रुपमा प्रचार गरेर जिताउने रणनीति बनाएको छ ।