मधेसविरोधिले ‘सवक’ पाउने महतोको दाबी

मधेसविरोधिले ‘सवक’ पाउने महतोको दाबी


धनुषा क्षेत्र नम्बर ३ का काङ्ग्रेस उम्मेदवार विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो ‘सबक’ सिकाउने दाबी उनका प्रतिद्वन्द्वी राजेन्द्र महतोले गरेका छन् । मधेसलाई अधिकार दिने सवालमा निधि खलपात्र भएकाले मधेसका जनताले उनलाई पराजित तुल्याउने महतोको भनाई छ ।

जनकपुरमा भएको एक चुनावी साक्षात्कारमा महतोले अहिलेको निर्वाचनलाई आफूहरूले निर्वाचनरूपी आन्दोलनकै रूपमा उपयोग गरिरहेको खुलासा गर्दै जनताको मत आन्दोलनको पक्षमा आउने बताए । विगतमा भएका मधेश आन्दोलनका विरूद्धमा सरकारी पक्षले बुलेटको प्रयोग गरेर जनताको अधिकार खोसेको भए पनि अहिले जनताले बुलेटभन्दा पनि तागतकारी हतियार ‘ब्यालेट’ पाएकोले अब त्यसको जवाफ दिने बेला आएको तर्क गरे ।

उनले भने, ‘अब ब्यालेटको उपयोग जनताले गर्नेछन् । सरकारी शक्तिशाली हतियारभन्दा बलियो हतियार हामीसँग छ, हिजोको मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठमा ६ जना मधेशी दाजुभाइहरूको हत्या भयो, अब त्यसको पनि हिसाबकिताब जनताले दिन्छन् ।’

नेता निधितर्फ संकेत गर्दै उनले मधेश आन्दोलनका क्रममा राज्यले मधेशीहरूको हत्या गरेकोले सरकारमा बसेर गोली चलाउने, दमन गर्नेहरूलाई अब जनताले राम्रोसँग हिसाबकिताब चुक्ता गराउने अभिव्यक्ति दिए । उनले भने, ‘मधेशी जनताको आन्दोलनमाथि गोली चलाउने र दमन गर्ने मान्छे मधेशको मसिहा हुनै सक्दैन । उनको पार्टी स्वयम पनि मधेशीको भलो गर्ने पार्टी होइन, आन्दोलनकारीलाई गोली ठोक्नेले अहिले आएर म मधेशी जनताको पक्षमा छु भनेर भोट माग्ने ? यो हास्यस्पद कुरा हो ।’ जबसम्म समग्र मधेशको विकास हुँदैन तबसम्म मधेशमा कुनै न कुनै आन्दोलन भइरहने उदघोषका साथ महतोले ब्यालेट जनताको हातमा रहेकोले अब जनताले नै फैसला गर्ने बताए ।