पूर्वसभामुख सुवास नेम्वाङलाई टक्कर दिन ७८ वर्षीय दलबहादुर उत्रे

पूर्वसभामुख सुवास नेम्वाङलाई टक्कर दिन ७८ वर्षीय दलबहादुर उत्रे


मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर–२ बाट एकजना वृद्धले उम्मेदवारी दिएका छन् ।

चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दैछन् । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली कांग्रेसबाट उम्मेदवार छन् ।

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘ज्येष्ठताका आधारमा मैले चुनाव जित्छु’–राईले भने ।

राईका प्रमुख प्रतिस्पर्धी नेम्वाङ उनीभन्दा १४ वर्ष तथा थापा २० वर्ष कान्छा छन् ।

यस्तै, क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’मा उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० वर्ष पुगे ।

उहाँ १५ वर्ष कान्छो उम्मेदवार नेकपा एमालेका राम राना तथा राप्रपाका ३१ वर्षीय नसिप राईसँग प्रतिस्पर्धा गर्दैछन् ।

२६ वर्षीय उम्मेदवार
जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छा क्षेत्र नम्बर–२ प्रदेशसभा ‘ख’मा संघीय समाजवादी फोरमबाट उठेका २६ वर्षीय मणिविक्रम लिम्बू हुन् ।

यस्तै, मंगोल नेसनल अर्गनाइजेसनबाट क्षेत्र नम्बर–१ को प्रदेशसभा खमा २८ वर्षीय राजन चाम्लिङ उम्मेदवार छन् । दुवै उम्मेदवार अविवाहित छन् ।

सोही क्षेत्रमा नयाँ शक्तिबाट उठेका २९ वर्षीय रामप्रसाद सञ्जेल तथा विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर–१ मा उम्मेदवार बनेका २७ वर्षीय सचेन घले अविवाहित छन् । घले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग प्रतिस्पर्धा गर्दैछन् ।