नेपाली काङ्ग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले शान्ति र संविधानको जिम्मेवारी लिएर दोश्रो संविधानसभा निर्वाचनमा जनताको विश्वास जितेको चारवर्षे कार्यकालमा १ अर्ब बढीका विकास योजना ल्याएको दाबी गरेका छन् ।
भद्रपुरमा पत्रकारहरुसित अन्तरक्रिया गर्दै सिटौलाले पहिलो संविधानसभाले संविधान जारी गर्न नसक्दा शान्तिप्रक्रिया पनि अलपत्र परेपछि दोस्रो संविधानसभा निर्वाचनमा जनतासित परिवर्तनलाई संस्थागत गर्ने प्रतिबद्धता गरेर गरेअनुसार संविधान जारी गरेको बताउँदै भने– ‘अब संविधान कार्यान्वयन र विकासको समय आएको छ, परिवर्तित संघीय संरचनालाई व्यवस्थापन गर्दै विकासका लागि कांग्रेसलाई मत दिनुहोस् ।’
संघीयता र लोकतान्त्रिक गणतन्त्र अस्वीकार गरिरहेको राप्रपालाई एमाले र माओवादीले उम्मेद्वार बनाएकोमा आफू अचम्मित भएको बताए । २०४६ सालको जनआन्दोलमा नेपालकै पहिलो सहिदका रुपमा मण्डलेद्वारा मारिएका राम थापाको रगत आलै रहेको स्मरण गराउँदै सिटौलाले बहुदलीय प्रजातन्त्रका सिपाही सफायमा लागेका तथा ०६२/६३ को लोकतान्त्रिक गणतन्त्रको परिवर्तन रोक्न सुरज विश्वास र राजन गिरीलाई गोली हान्नेहरु झापाली जनताका प्रतिनिधि बन्न अयोग्य रहेको जनाए ।
आफू परिवर्तनको लडाइँमा अविचलित भएर निरन्तर लागेको स्पष्ट पार्दै सिटौलाले अहिलेको निर्वाचनमा शान्ति र समृद्धिको सपना पुरा गर्न क्षेत्र नम्बर ३ का जनताले मतदान गरेर पठाउनु पर्ने जिकीर गरे । उनले अलपत्र हुलाकी सडक, अव्यवस्थित मेची अञ्चल अस्पताललाई निर्माण सुचारु गर्दै स्तरीकरणमा आफ्नै कार्यकालमा सफल भएको सुझाए । सिटौलाले खानेपानी, ग्रामीण सडक, सामुदायिक भवन, विद्यालय भवन जस्ता जनपक्षीय भौतिक संरचनाका काम तीव्र गतिमा भइरहेको जनाए । प्रदेश नम्बर १ को सरकारी मेडिकल कलेजका रुपमा मेची अस्पताल विकसित हुने प्रकृयामा गइ सकेको उल्लेख गर्दै मेची नदी नियन्त्रण देउनिया खोला पूल निर्माण जस्ता अति आवश्यक काम सम्पन्न हुन गइरहेको जनाए ।
झापाको सदरमुकाम समेत रहेको झापा क्षेत्र नम्वर ३ नेपालको राजनीतिक परिवर्तनको बाहक भएको भन्दै सिटौलाले प्रगतिशील विचारधारामा रहेका जनता अग्रगमनका पक्षधर हुनु पर्ने प्रष्ट पारे ।
– रेजिना गौतम
प्रतिक्रिया