वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच सोलुखुम्बुमा झडप

वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच सोलुखुम्बुमा झडप


वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच सोलुखुम्बुको सोताङ्ग गाउँपालिकामा झडप भएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा रहेका दुबै दलका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ घाइते भएको बताइएको छ ।

घाइते नेपाली र तामाङको सोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बिहीबारदेखि नै तनावको स्थिति सिर्जना भएको स्थानीय बासिन्दाले बताएका छन् ।

वाम गठबन्धनले शुक्रबार सोताङ्ग गाउँपालिकामा चुनावी सभा आयोजना तय गरी पोष्टर पमप्लेट टाँस्दै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताले पोष्टर च्यातेर फालेपछि तनावको स्थिति सिर्जना भएको थियो ।

झडपपछि वाम गठबन्धनको टोलिले नेपाली कांग्रेसका उम्मेदवारसहित कार्यकर्ताले हातहतियार सहित आक्रमण गरेको आरोप लगाएको छ ।

यता नेपाली कांग्रेस पक्षले भने आफूहरुको जित सुनिश्चित देखिएकाले आफूमाथी आक्रमण भएको आरोप लगाएको छ । बाटोमा हिँडिरहेको बेला वाम कार्यकर्ताले एक्कासी ढुगांमुढा गरेका कारण स्थिति तनाबग्रस्त बनेको कांग्रेस पक्षको दाबी छ ।

तनाव भएपछि ईलाका प्रहरी कार्यालय, सोताङ्गबाट खटिएको प्रहरीको टोलिले स्थिति नियन्त्रणमा लिई सुरक्षास्थिति बलियो बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।