किन बनेन मधेशी दलको घोषणापत्र ?

किन बनेन मधेशी दलको घोषणापत्र ?


नेपाली कांग्रेस, एमाले–माओवादी केन्द्र सम्मिलित बाम गठबन्धन, राप्रपालगायत दलहरूले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । दलका घोषणापत्रले पूरा गर्नै नसक्ने सपना देखाएर जनतामाझ भ्रमको खेती गर्न खोजेको भनी निकै चर्चा पनि चलिरहेको छ । तर, मतदान नजिकिँदै जाँदा पनि मधेशी दलहरूले भने घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन् । खासगरी आफूलाई मधेशको रैथाने दाबी गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले त घोषणापत्र तयार गर्न समिति समेत बनाउन नसकेको सन्दर्भ यतिबेला उपहासकै विषय बनाइएको छ ।

मधेशी दलहरू घोषणापत्रबिनै चुनावी मैदानमा होमिएका छन् । मधेशी दलहरूले बौद्धिक मतदाताका लागि पार्टीको धारणा प्रस्ट्याउन महत्वपूर्ण मानिने घोषणापत्र अहिलेसम्म तयार पार्न नसक्नुको रहश्य भने खुलिसकेको छैन । पार्टीको आन्तरिक किचलोका कारण बौद्धिक नेताहरू शीर्ष नेतृत्वसँग रुष्ट रहेकोले घोषणापत्र बनाउन उनीहरू अघिनसरेका र नेतृत्वले पनि अह्राउन नसकेको बताइन्छ ।

तर राजपाका महासचिव मनिष सुमनको भनाई भने बेग्लै छ । सबै नेताहरू आ–आफ्नो क्षेत्रमा रहेकाले घोषणापत्र तयार हुन नसकेको उनले बताए । ‘हामी आन्दोलनकारी पार्टी हौं, हाम्रा एजेण्डा जनताले बुझेका छन्, त्यसकारण हाम्रो प्राथमिकतामा घोषणापत्र परेको छैन’, उनले प्रस्ट्याए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ६ वटा पार्टी मिलेर बनेको राजपामा दस्तावेजहरू निर्माणका लागि विवाद हुँदै आएको छ । पार्टीको विधान पनि विवादरहित बनेको छैन । स्थानीय निकाय निर्वाचनको घोषणापत्रमा पनि निकै विवाद भएको थियो । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी घोषणापत्र निर्माणमा पुनः विवाद हुने भन्दै नेताहरू पन्छिन खोजेपछि घोषणापत्र बन्न नसकेको अनुमान गरिएको छ ।