राजपा नेता राजेन्द्र महतोले काँग्रेसका केही नेताको कारण लोकतान्त्रिक गठबन्धनको गर्भमै हत्या भएको बताएका छन् ।
धनुषामा आज भएको चुनावीसभालाई सम्बोधन गर्दै महतोले काँग्रेसका केही नेताको निजी स्वार्थका कारण लोकतान्त्रिक गठबन्धनले पूर्णता नपाई गर्भमै हत्या भएको जिकिर गरे ।
धनुषा–३ मा आफ्ना प्रतिद्वन्द्वी काँग्रेसका उम्मेद्वार विमलेन्द्र निधितर्फ इंगित गर्दै महतोले एउटा सिटमा पनि सम्झौता हुन नदिने नेताले लोकतान्त्रिक गठबन्धनमा भाँडभैलो मच्चाएको आरोप लगाए ।
काँग्रेसको नेतृत्वमा केही अरु दललाई समेटिएको गठबन्धनले कुनै अर्थ नराख्ने उनको भनाइ छ । ‘ठूलो दलले ठूलो दिल देखाउनुपर्छ, सबै सिट आफै लिने र मधेसी नेतालाई प्रदेशसभा र राष्ट्रियसभाको ललिपप देखाएर राजनीतिक समाप्त पार्ने षड्यन्त्र कांग्रेस पार्टीले गरेको छ,’ उनले भने ।
संविधान संशोधन विफल गराउने षड्यन्त्रमा एमाले सँगसँगै काँग्रेसले पनि षड्यन्त्रकारी भूमिका खेलेको उनको आरोप छ ।
प्रतिक्रिया