आर्थिक समृद्धि लागि काङ्ग्रेसको नेतृत्व आवश्यक पर्ने दाबी

आर्थिक समृद्धि लागि काङ्ग्रेसको नेतृत्व आवश्यक पर्ने दाबी


झापाको विर्तामोडमा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताले लोकतन्त्रको संस्थागत विकास र आर्थिक समृद्धि काङ्ग्रेसको नेतृत्वमा मात्र हुन सक्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नम्बर–५ को आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै वक्ताहरूले पहिलो संविधानसभा निर्वाचनबाट कांग्रेस दोस्रो हुदा ४-४ जना कम्युनिष्ट नेता प्रधानमन्त्री भए पनि संविधान जारी हुन नसकेको उदाहारण प्रस्तुत गर्दै दोस्रो संविधानसमा निर्वाचनबाट ठूलो दल भएको कांग्रेसका तर्फबाट प्रधानमन्त्री भएको डेढ वर्षमै संविधान जारी भएकोले जारी संविधान कार्यान्वयन र देश विकासका लागि पनि कांग्रेसकै नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जलकुमार गुरुङ, झापा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार उद्वव थापा, क्षेत्र नम्बर–२ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लक्ष्मण खड्का, निर्वाचन अनुगमन समिति झापाका संयोजक सुधिरकुमार शिवाकोटी लगायतले मन्तव्य दिएका थिए ।

यसैबीच जिल्ला पार्टी कार्यालयमा सम्पन्न नेपाल महिला संघको बैठकले संघकी जिल्ला सभापति सुशीला ढकालको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरेकोे छ । संघकी उपसभापति चन्द्रकला भण्डारीको सभापतित्वमा सम्पन्न बैठकले महिला संघको जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति, क्षेत्रीय प्रतिनिधि गाउँ तथा नगरसभापति सम्मिलित समिति गठन गर्ने निर्णय गरेको हो ।

जनवर्गीय संगठन परिचालनका लागि समिति गठन
एमाले जिल्ला पार्टी कार्यालयमा शुक्रबार आयोजित भेलाले झगप्रसाद बरालको संयोजकत्वमा क्षेत्रनम्बर–२ प्रतिनिधिसभा स्तरीय ९ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर–२ को क्षेत्र १ अन्तर्गत केशव भण्डारीको संयोजकत्वमा र क्षेत्र २ अन्तर्गत देवकुमार राईको संयोजकत्वमा ९÷९ सदस्यीय समिति गठन गरेको अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष जशमाया गजमेरले जानकारी दिइन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि घिमिरे, बामगठबन्धनबाट क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभासदस्य उम्मेद्वार पवित्रा निरौला खरेल, क्षेत्र नम्बर–२ को १ बाट प्रदेशसभा सदस्य एकराज कार्की लगायतले आफ्ना धारणा राखेका थिए ।