विश्वका सर्वश्रेष्ठ कवि जसलाई ज्युँदै जलाउन खोजियो

विश्वका सर्वश्रेष्ठ कवि जसलाई ज्युँदै जलाउन खोजियो


– हेमन्त खतिवडा

विश्वप्रसिद्ध साहित्यकार दाँते सर्वश्रेष्ठ कवि हुन् । उनको काव्यात्मक लेखन, सांगीतिक छ, जुन संगीतको धुनजस्तै मधुर छ, सरल छ अनि उनको व्यक्तित्वजस्तै भब्य छ र आफैंमा पूर्ण पनि छ ।

सन् १२६५ मा फ्लोरेन्स शहरमा जन्मिएका थिए दाँते, हाम्रा प्यारा दाँते । उनी जन्मनुको अघि फ्लोरेन्स शहरको आकाशमा धूमकेतु निस्केको थियो, मानिसहरूले भने– हाम्रो शहरमा अवश्य पनि एउटा महान् व्यक्तिको जन्म हुनेछ, नभन्दै दाँते जन्मिए ।

विचरा ! एउटा दुःखी बालक थिए उनी, पाँच वर्षको हुँदा आमा मरिन् । बाह्र वर्षको हुँदा बाबु मरे । आँखामा विषद र छातिमा व्यथा लिएर उनी हुर्के । अरु बालकभन्दा भिन्न, अझ भिन्न थिए उनी ।

मान्छेहरू भन्थे– अर्कै लोकबाटै आएका साना हाम्रा कवि ।

सानैदेखि मेधावी अनि अति प्रतिभाशाली थिए दाँते ।

नौ वर्षको हुँदा उनले एउटी बालिकालाई देखे, उनको नाम थियो बेट्रिसे, नौ वर्षकी सानी सुन्दरी बेट्रिसे । मनमुग्धारिणी । हाम्रा दाँते मोहित भए, मन्त्रमुग्ध नै भए, उनको धपक्क बलेको मुहारमा अनि सुमधुर बोलीमा लठ्ठिए हाम्रा दाँते ।

बेट्रिसे फ्लोरेन्सका एक धनी सज्जनकी छोरी थिइन् । उनको कपाल सुनौला थियो । पहेँलो सुनौलो पोशाकमा हिँड्थिन् बेट्रिसे । दाँतेले के सोचे भने बेट्रिसे उनका आँखालाई आल्हादित पार्न स्वर्गबाट झरेकी हुन् । तर उनी चाँडै अलप भइन् । धेरै वर्षपछि बेट्रिसेले दाँतेलाई देखिन् ।

‘बाटामा जाँदा उनले मतिर नजर फिराइन्, म लाजले रातै भएँ । उनले दया गरेर ममाथि मृदु मुस्कान बर्साइन् ।’ – कुनैबेला दाँतेको अभिव्यक्ति ।

यो उनीहरूको प्रेमलिला सुरु भएको बेला थियाो र अन्त पनि यही थियो । तर दाँतेले उनलाई जीवनभर बिर्सन सकेनन् । उनी भइन् उनकी प्रेरणादायिनी, दिव्य, काव्यकी सृजना–शक्ति अनि सबभन्दा तेजस्वी नारी !

बेट्रिसेलाई पाउन सक्तिनँ भन्ने दाँतेलाई थाहा थियो । दाँते अग्ला थिएनन्, अबोला थिए । पातलो र दुब्लो थिए उनी । एकपल्ट एउटा बिहे भोजमा केटीहरूले उनको भावभङ्गी नक्कल गरेर खिल्ली उडाएका थिए । किनभने कसैले हँसीमजाक गर्दा उनी बोल्न जान्दैनथे, तर लेख्न चाहिँ ? ओहो ! त्यस कलामा उनी सिद्धहस्त थिए, बेजोड थियो उनको लेखनकला, चमत्कारपूर्ण पनि । उनले सोचे एक दिन उनको कलमबाट बेट्रिसेको अपार सोन्दर्य काव्यमा अंकित हुनेछ ।

बेट्रिसेले एक धनी मानिससित बिहे गरिन्, तर उनी चाँडै हिँडिन् । मृत्यु हुँदा जम्मा चौबीस वर्षकी थिइन् उनी । उनको मृत्युले आहत भए दाँते, त्यो शोक उनले भुल्न सकेनन् । त्यस दिनदेखि उनले आध्यात्मिक जीवन बिताउन थाले, मानसिक वैधव्यको जीवन जिउन थाले ।

उनी शहरको राजनैतिक जीवनमा पसे, क्यामपालडिनोको लडाइँमा लडे, फ्लोरेन्सको कलात्मक जगत्मा हेलिन पुगे । तर यी थिए बाहिरी क्रियाकलाप, हृदयमा एउटै चाहना थियो बेट्रिसेलाई देखेर उनले जुन आनन्दको क्षण अनुभव गरे त्यसलाई उनी काब्यामा अमर पार्न चाहन्थे ।

दाँतेले गेम्मा दोनाटीलाई बिहे गरे । उनी उनी त मुखाले थिइन्, मुख बजाउँथिन् अनि सधैं कचकच गर्थिन् । दाँतेको कवि प्रतिभालाई बुझिनन् चिनिन् र चिन्न सकिनन् । घरमा अशान्तिको बिज रोपियो, सधैं कलह–कलह हुन लाग्यो । अब दाँतेको एकछिन घरमा बास हुँदैनथ्यो । घरमा अशान्ति रचाएर नानीलाई जन्म दिइन् दोनाटीले ।

पोप बोनिफेसको विचारलाई दाँतेले विरोध गरेको हुनाले उनले निर्वासित जीवन जिउनु परेको हो । यसरी बीस वर्ष उनले प्रवासमा बिताउनु परेको थियो । घरविहीन भएर हिँडे दाँते, मौन, एक्ला अनि सधैं उदास–उदास ! कहिले उनी धनी मानिसका घरमा आइपुग्थे, उनलाई धनीहरू माग्नेलाई जस्तो व्यवहार गर्थे, अनि उनी निराश हुन्थे । जीवन अशान्त थियो, अपमानित थियो र तिक्ततापूर्ण । सबै सबै यातनाहरू भोगे अब उनले । नरकलोकका सबै पीडादायी क्षणहरू पनि भोगे उनले ।

अपमान सहेर फर्कन पनि त उनले चाहेनन् नि हौ !

अब शासकहरूले घोषणा गरे जहाँ भेटे पनि दाँतेलाई जिउँदै जलाइनेछ ।

उनलाई भेटाउन त सकेनन् तर मानसिक रूपले भने उनी जिउँदै जले, पिडैपीडा र दुःखको रापले सेकिए अनि दुःखको भुङ्ग्रोमा पसे । पैसा कमाउन पनि खोजे तर सकेनन् । पैसाविहीन भए उनी, साथीविहीन भए उनी अनि भगवान्विहीन भए उनी ! जुन उनको आशा र भरोसाको केन्द्र थियो । रुदा आँशु झारी–झारी रुने अनि छाति पिटिपिटि रुँदा जो सँग रुन्थे, अब त उनी भगवान्सँग पनि रुन्थे, अब त उनी भगवान्सँग पनि रिसाए अनि भगवानविहीन भए । भगवानलाई पनि बाईबाई गर्न पुगे ।

इटालीका शहरहरूमा कविको रूपमा उनको प्रसिद्धि विस्तारै–विस्तारै फैलिन थाल्यो । अब भने उनले ख्यातिको मधुरस पिउने बेला थियो अनि उनले सफलताको स्वाद चाख्ने बेला थियो ।

के अचम्म भयो यस्तो ? कस्तो चमत्कारपूर्ण । मान्छेहरू भन्न लागे के यस्तो थोत्रो मानव शरीरमा प्रतिभाको दिव्य अग्निशिखा उत्पन्न हुन सक्छ ? प्रतिभाको रश्मी फैलियो ।

उनको रुप–रङ्ग आकर्षक थिएन, अनुहार लामो थियो, नाक सुगाको जस्तो, बङ्गारा ठूला, तल्लो ओठ बाहिर निस्केको आँखा भित्र पसेको, सधैं उदास–उदास । फेरि उनी असाध्यै संकोची थिए, दम्भी थिए । दार्शनिक जस्तो स्वभाव, अरुसँग व्यवहार गर्न नजान्ने । हाँसखेल ठट्टा मनोरञ्जन गर्न नरुचाउँने । भनिन्छ नि एकान्तप्रिय !

हो उनी त्यस्तै थिए, शान्त प्रवृत्तिका व्यक्ति । यसरी उनी जीवितको संसारमा एक्लै हिँडिरहे, एक्लै हिँडिरहे । अब उनी आफ्नो महान् कृति डिभाइन कमेडीको निर्माणमा हिँडे । यस मृतहरूको अमर काब्यमा धेरै जीवित पात्रहरू सृष्टि गरे । यस काव्यमा नरकलोक, शोधनलोक र बैकुण्ठलोकमा यात्रा गरेको वर्णन छ ।

एकदिन कवि एउटा घनघोर जंगलमा हराउँछन्, अनि उनी एउटा डाँडमा आइपुग्छन् । त्यहाँ उनलाई चितुवाले छेक्छ, ब्याँसोले छेक्छ अनि सिंहले छेक्छ । कामुकता, अभिमान र कपटताका पात्रहरू हुन्, तिनीहरू ।

अब भने उनले दिव्य दृष्टिको क्षण अनुभव गर्छन् ।

नरकलोक, शोधनलोक र बैकुण्ठलोकको वर्णन छ डिभाइन कमेडीमा ।

मृत्युपछि आत्माहरूको के स्थिति हुन्छ त्यसको एक दृष्टि यसले प्रस्तुत गर्छ । आध्यात्मिक प्रकाशको आवश्यकताबारे यसले निरुपण गर्छ । योग्य नागरिक बन्नको लागि मानिसले पाप र प्रलोभनबाट माथि उठ्नुपर्छ भन्ने कुरा यस काब्यामा वर्णन गरिएको छ र यसले त्यही सन्देश पनि दिएको छ । यस पुस्तक पचास वटा भाषामा अनुदित भएका छन् र संसारभर प्रसिद्ध भएका छन् ।

दाँतेले बीस वर्षमा राप सहे, ताप सहे अनि अपमान सबै–सबै सहे । त्यही पनि यही महान कृति डिभाइन कमेडीको निर्माणमा लागिरहे, उनले हरेस खाएनन्, आशा मारेनन् र निराशाको विषद् आँखामा आउन दिएनन् । दाँतेले आफ्नो काव्यमा आफ्ना दुश्मनहरूलाई नरकलोकका कन्दराहरूमा राखे ।

सन् १३२१ मा दाँतेले राभेन्नामा देह त्याग गरे, त्यति बेला उनी ५६ वर्षका थिए । उनी जीवित छँदा फ्लोरेन्सवासी उनलाई खरानी पार्न चाहन्थे, खरानी पार्ने धम्की दिन्थे तर उनको निधनपश्चात दाँतेको खरानी मागे, तर राभेन्नाले दिन मानेनन् । दान्ते मरुेको पाँच सय वर्षपछि कवि बाइरन उनको चिहान हेर्न गए । अनि यी कवि जसले जीवितको अघि कहिले आवेग प्रदर्शित गरेनन्, तर उनी अहिले घुँडा टेकेर रोइरहे धर्धर्ती रोइरहे, अनि उनले मृत चिहानमा अघि सरे अनि फेरि धर्धर्ती रोए अनि श्रद्धा भावले हेरे र पुष्प अर्पण गरे ।