मन्त्रीसँग मागियो चौबिसघण्टे स्पष्टिकरण

मन्त्रीसँग मागियो चौबिसघण्टे स्पष्टिकरण


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई निर्वाचन आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । सरकारी सवारी साधनको दुरूपयोग गरी चुनावी सभामा अतिथिको रुपमा सहभागी भएकोले निर्वाचन आचारसंहिता उल्लंघन भएको आरोप आयोगले मन्त्री देवमाथि लगाएको हो । उनी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा शनिबार आयोजित नेपाली कांग्रेसको एक चुनावी कार्यक्रममा सहभागी भएका थिए ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मन्त्री देवसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको छ भने सप्तरी कांग्रेसका सभापति एवं नेपाली कांग्रेसका तर्फबाट सप्तरी जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेशकुमार यादवलाई पनि सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरेको भनी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्ने निर्देशन दिइएको छ ।सप्तरीको खुरहुरियास्थित जनता माविका प्रअ सूर्यनारायण यादवलाई पनि सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गर्न दिएको भन्दै आयोगले स्पष्टीकरण मागेको बुझिएको छ ।