सुरक्षा ‘थ्रेट’ बढेको भन्दै निर्वाचन आयोगले सुरक्षाप्रमुखलाई डाक्यो

सुरक्षा ‘थ्रेट’ बढेको भन्दै निर्वाचन आयोगले सुरक्षाप्रमुखलाई डाक्यो


सुरक्षा ‘थ्रेट’ बढेको भन्दै निर्वाचन आयोगले सुरक्षाप्रमुखलाई डाकेको छ ।

निर्वाचन आयोगले आज सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुको सुरक्षामा गम्भीर हुन सुरक्षा अधिकारीहरुलाई आग्रह गर्न लागेको हो ।

आयोगले आइतबार दिउँसो १ बजे सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर छलफल गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

छलफलमा आयोगका पदाधिकारीहरुले देशको समग्र शान्ति सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिनुका साथै उम्मेदवारको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गर्ने बताइएको छ ।

पछिल्ला केही दिनदेखि उम्मेदवारमाथि आक्रमणका प्रयासहरु भइरहेका छन् । शुक्रबार रुकुममा माओवादी नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको थियो । त्यसको भोलिपल्टै शनिबार दिउँसो रोल्पामा माओवादी नेता वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको थियो ।

यसले सुरक्षा व्यवस्थामै चुनौती थपिदिएको सुरक्षा संयन्त्रले निश्कर्ष निकालिसकेको छ भने सबैलाई गम्भीर बनाएको देखिन्छ ।