मुस्लिम अगुवाहरूले राज्यसँग मागे सुरक्षाको प्रत्याभूति

मुस्लिम अगुवाहरूले राज्यसँग मागे सुरक्षाको प्रत्याभूति


– हेमशंकर सिंह

वर्तमान संविधानमा मुस्लिम धर्मको केही उल्लेख नगरिएको औंल्याउँदै सप्तरीका मुस्लिम समुदायका अगुवाहरूले आफ्नो धर्मबारे संविधानमा उल्लेख गराउन प्रतिबद्धता जनाउनेलाई मात्र मत दिने घोषणा गरेका छन् । जामिया इस्लामिया नामक शैक्षिक संस्थाले हिजो शनिबार कञ्चनरुप नगरपालिकामा आयोजना गरेको ‘नेपालको संविधान र मुसलमान’ विषयक सामाजिक बहसमा बोल्दै उनीहरूले त्यस्तो धारणा प्रकट गरेका हुन् ।

बहसमा सहभागिता जनाउँदै जमायते उलमाका केन्द्रिय सदस्य मो. नजिर अहमदले देशलाई इस्लाम धर्मावलम्बी नै रहेका दाबी गर्दै भने– ‘हामी देशको संविधान मान्छौँ तर हामीमाथि हेपचेप या अन्याय–अत्याचार भएको सहन गर्न सक्दैनौँ ।’ मुसलमान बिकाउ जात नभएको दाबीसहित उनले पैसा लिएर कुनै उम्मेदवारलाई मत नदिन आफ्ना समुदायका मतदातालाई आह्वान गरे ।

यस्तै, अधिवक्ता मो. समिमले समाजवादलाई अंगिकार गर्ने पार्टीले मात्र मुस्लिम समुदायको हक–अधिकारबारे सोच्न सक्ने भएकाले उक्त विचार बोक्ने पार्टीलाई मात्र मत दिनुपर्ने राय प्रकट गरे ।

जामिया इस्लामियाका अध्यक्ष मौलाना मो. कलिमले ठुला दलले मुस्लिम समुदायलाई चुनावमा टिकट नदिएर भोटबैंकको रुपमा मात्र प्रयोग गर्न खोजेकाले आश्वासन बाँड्ने भन्दा पनि मन जित्नेलाई मुस्लिम समुदायले भोट दिने बताए । आसन्न निर्वाचनपछि वर्तमान संविधानबाट धर्म निरपेक्षता हट्ने हो कि भन्ने चिन्ता पनि उनले प्रकट गरे ।

संघीय समाजवादी फोरम नेपालका प्रदेश नम्बर २ का कमिटी सदस्य मो. युसुफ अलीले राजनीति तथा सामाजिक क्षेत्रमा कद बढ्न थालेपछि मुस्लिम समुदायका अगुवाउपर विभिन्न शक्ति केन्द्रद्वारा हत्याको प्रयास हुने गरेको आरोप लगाउँदै मुस्लिम समुदायले आफूलाई असुरक्षित महसुस गरेकाले राज्यले सुरक्षाको अनुभूति गराउनुपर्ने माग गरे ।