‘माओवादी लुटेरा र अपराधीहरुको पार्टी’ : उपेन्द्र यादव

‘माओवादी लुटेरा र अपराधीहरुको पार्टी’ : उपेन्द्र यादव


– हेमशंकर सिंह

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रलाई लुटेरा र अपराधीहरूको पार्टीको संज्ञा दिएका छन् । मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि फोरम र राजपाको संयुक्त प्रचार अभियानको आइतबार उद्घाटन गर्दै यादवले पहिले जनतालाई लुटेका माओवादीले अहिले देश नै लुटिरहेको बताए । माओवादीको खोल ओडेर खाओवादी लुटेरा बनेको आरोप लगाउँदै यादवले भने– ‘मुलुकमा कालोधन्दा गर्ने, तस्कर, अपराधी जति थिए ती सबै माओवादी नेता भए ।’

बसबिट्टीस्थित गजेन्दनारायण सिंह औधोगिक क्षेत्र अगाडि रहेको सहिदहरुको समाधीस्थलमा माल्यार्पण गरी प्रचार अभियानको उद्घाटनपश्चात आयोजित सभामा यादवले पूरैजसो समय माओवादीलाई गाली गर्नमा खर्च गरे ।

मधेस आन्दोलनविरुद्ध पहिलो गोली हानेर लहानमा रमेश महतोको हत्या गर्ने, त्यो लाश लुट्ने, मधेस आन्दोलनको मुकाबिला गर्ने, माओवादी सेना र शाही सेना मिलेर मधेस आन्दोलन कुल्चिनु पर्छ भन्ने, हालैको मधेस आन्दोलनमा गोली हान्ने गृहमन्त्री सबै माओवादी नेता नै रहेको यादवले स्मरण गरे ।

मधेसको दमन गर्नेलाई सत्ता र शक्ति नदिन आग्रह गर्दै उनले मधेस राज्यको निर्माण गर्न आह्वान गरे । सातवटा प्रदेशमध्ये आर्थिक रुपमा सबैभन्दा कमजोर राख्ने नियतले सधै शोषण कायम राख्न प्रदेश नम्बर दुई बनाइएको भन्दै उनले आफूले जिते मधेसको लगानी र स्रोत मधेसकै विकासमा लगानी हुने दाबी गरे ।

सप्तरीबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका यादवले मधेसविरोधी संविधान जारी हुँदा सबभन्दा ठूलो दिपावली प्रचण्डको घरमा भएको बताए । खस–आर्यहरुको पक्षमा जबर्जस्ती लादिएको संविधान पुनर्लेखन नभए ६ वटा संविधान फेल भएझैँ सातौँ संविधान पनि फेल हुने र आठौँ संविधान तयार हुने उनले जिकीर गरे ।

सोही अवसरमा राजपाका महासचिव एवं प्रदेश सभाका उम्मेदवार मनिष सुमनले आफूहरु बाहेक मधेसमा भोट माग्ने अधिकार अरुलाई नरहेको बताए । निवर्तमान सांसद उमेश यादवलाई तेस्रो लिङ्गीको संज्ञा दिदै सुमनले भने–‘पछिल्लो पटक मधेसी भनेर संविधानसभामा पठाए पनि उनी न पुरुष रहे न महिला रहे, शिखण्डी बनेर प्रचण्डले जे भन्यो त्यही माने, संविधान संशोधनमा हस्ताक्षर गरेनन् ।’ घरमा भोट माग्न आउने बाम गठबन्धनका उम्मेदवार उमेश यादवलाई संविधानमा किन हस्ताक्षर गरेको भनेर प्रश्न गर्नुपर्ने भन्दै उनले प्रश्नको ठिक जवाफ नदिए कुचोले हिर्काएर पठाउन मतदातालाई सिकाए ।

चीन जस्तो एकदलीय व्यवस्था लाद्न बाम गठबन्धन बनेको उनले आरोप लगाए । एकल कम्युनिष्ट शासन स्थापना गर्न गठित बामगठबन्धनका विरुद्ध मधेस गठबन्धन भएको बताउँदै सुमनले भने–‘हाम्रो आन्दोलन र आदेशमा सहिद तथा घाइते भएकाहरुको आग्रहअनुसार गठबन्धन गरी बाम गठबन्धनका विरुद्ध चुनावमा होमिएको हौँ ।’

एण्टिवायोटिक औषधीको साइड इफेक्ट झैँ मधेस गठबन्धनको साइड इफेक्टका रुपमा मधेसी जनताको आदेशविरुद्ध खडा भएका विद्रोही उम्मेदवारको भ्रममा नपर्न समेत उनले आग्रह गरे । उपेन्द्र यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुर र सुमनका विरुद्ध राजपाकै क्षेत्रीय सभापति लक्ष्मण यादव उम्मेदवार बनेका छन् ।

फोरमका केन्द्रीय सदस्य एवं प्रदेश सभाका उम्मेदवार शैलेन्द्रप्रसाद साहले सहिदको सपना पुरा गर्दै आन्दोलनको उपलब्धी संस्थागत गर्न चुनावमार्फत मधेस गठबन्धनलाई शक्तिका रुपमा उभ्याउन आग्रह गरे ।