देवदह (रुपन्देही) । रुपन्देही क्षेत्र नंम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेद्धवार एवम् खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले यसपटकको निर्वाचन लोकतन्त्र बचाउने र लोकतन्त्र सिध्याउने शक्तिबीचको लडाई भएको भन्दै देशलाई कम्युनिष्ट तानाशाहीमा जानबाट जोगाउने जिम्मेवारी युवाहरुको काँधमा आएको तर्क गरेका छन् ।
नेपाल विद्यार्थी संघ देवदह आदर्श बहुमुखी क्याम्पस इकाई समितिले आइतबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका राज्यमन्त्री रज्जाकले लोकतान्त्रिक शासन पद्धतिको स्थायित्व र संबर्धनका लागि अहिलेको निर्वाचनको विशेष महत्व रहेको उल्लेख गर्दै भने, ‘लोकतान्त्रिक पद्धतिलाई जोगाउने हो वा जनमत लिएर यसलाई सिध्याएर कम्युनिष्ट व्यवस्थातिर जान दिने हो यो मतदाताहरुको हातमा रहेको छ ।’ अलिकति पनि तलमाथि पर्दा लोकतन्त्रको भविष्यमा नै असर पर्ने भएकोले यो निर्वाचनको खास महत्व रहेको उनको कथन थियो । उनले रुपन्देही क्षेत्र नंम्बर १ को विकासका निम्ति आफ्नो जीवनभरको समय खर्चिने बताउन्दै जनताको विश्वास र आशिर्वाद लिएर विकास निर्माणको काममा खटिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्रीले प्रजातन्त्रको खोल ओढेर साम्यवादी सोचका साथ निरकुंशता लाद्न हिँडेको कम्युनिष्ट पार्टीहरुले जनताको भावनासंग खेलवाड गरेको आरोप लगाए ।
सोही अवसरमा नेविसंघका ईकाई सभापति शंकर गिरीले अहिलेसम्म लोकतन्त्रको स्थापना र विकासको लागि लडिरहेको नेविसंघले खतरामा पर्न लागेको लोकतन्त्र जोगाउनका निम्ति मरेर लाग्ने बताए । उनले निर्वाचनमा नेविसंघका कार्यकर्ताहरु संगठित भएर लाग्ने र पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने पनि बताए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य बासुदेव रिमाल, देवदह जेसिसका संस्थापक अध्यक्ष विजय गुरुङ, नेपाल तरुण दलका रामचन्द्र पौडेल, नेपाल प्रेस युनियनका कमल न्यौपाने, नेविसघंका विद्यार्थी नेता सचिज पंगेनी, सुरज बश्याल, डिल्लीराम काफ्ले, प्रशान्त रिमाल, संगिता बश्याल लगायतले बोल्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेविसंघका बिद्यार्थीहरुलाई एकजुट हुन र लोकतान्त्रिक गठबन्धनलाई जिताउन लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया