हिन्दु अधिराज्य स्थापना अभियन्ताको निधन

हिन्दु अधिराज्य स्थापना अभियन्ताको निधन


हिन्दु अधिराज्य पुनर्स्थापना आन्दोलन समितिका वरिष्ठ सल्लाहकार एवम राष्ट्रवादी योद्धाका रुपमा चिनिएका बैकुण्ठ शम्सेर जबराको निधन भएको छ ।

काठमाडौंस्थित निजी निवासमा हृदयघात भई उपचारको लागि सहीद गंगालाल हृदय केन्द्र लगिएपछि आइतबार बिहान उनको निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहे पनि स्वर्गीय राणाले आफ्नो स्वास्थ्यलाई ध्यान नदिई हिन्दु अधिराज्य स्थापनाका लागि काम गर्दै आएका थिए ।

आइतबार नै पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार उनको दाह संस्कार गरियो । सो क्रममा शिवसेना नेपालका केन्द्रीय अध्यक्ष एवं हिन्दू अधिराज्य स्थापनार्थ आन्दोलन समितिका प्रमुख संयोजक अनिल बस्नेत (बाबा), सचिव सिर्जना वाग्ले, राष्ट्रिय सरोकार मंचका केन्द्रिय अध्यक्ष सोमविक्रम सिंह, विश्व हिंदू महासंघकी अस्मिता भण्डारीलगायतले स्वर्गीय जबराको पार्थिव शरीरमा नेपालको राष्द्रिय झण्डा तथा शिवसेनाको ओमकार अंकित झण्डा ओढाएर सम्मान एवम अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए ।

अन्त्येष्टि कार्यक्रममा स्वामी श्रीनिवास आचार्य, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकी महाचिव अस्मिता भण्डारी, राप्रपा प्रजातान्त्रिकका सहमहामन्त्री श्यामकुमार केसी, नेपाली कांग्रेस पार्टी बीपीका सभापति हरिबोल भट्टराई, मितेरी पार्टी नेपालका अध्यक्ष घनेन्द्र बस्नेत, भारतीय जनता पार्टीका नेता एवं फ्रेन्ड्स अफ नेपालका अध्यक्ष शिवशंकर सिंह, राष्ट्रिय सरोकार मञ्चका केन्द्रीय अध्यक्ष सोमबिक्रम सिंह स्व. राणाका आफन्तलगायत राष्ट्रवादी, बुद्धिजीवी, समाजसेवीहरूको उपस्थिति रहेको थियो । अन्त्येष्टिकै क्रममा सहभागीहरुले राणाको निधनले राष्ट्रवादी शक्तिहरु तथा हिन्दू अधिराज्य पुनर्स्थापना महाअभियानमा लागेकालाई अपूरणीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए ।