नेपालमै बद्रीनाथ दर्शन गराउने तयारी

नेपालमै बद्रीनाथ दर्शन गराउने तयारी


वर्षेनी हजारौँ नेपाली बद्रीनाथ दर्शनका लागि ज्यानै जोखिममा राखेर भारत जाने गर्छन् । यस तीर्थयात्राको क्रममा करोडौँको रकम भारत जाने गरेको छ । तर, अब भने बद्रीनाथको दर्शन नेपालमै गराइने तयारी आरम्भ भएको छ ।

काठमाडौंको नार्गाजुन नगरपालिका–६ स्थित रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले बद्रीनाथको मन्दिर बनाउन लागेको छ। त्यसका लागि सरकारले प्रतिष्ठानलाई २३ रोपनी जग्गासमेत प्रदान गरिसकेको छ ।

९९ वर्षसम्म भोगचलन गर्न सकिने गरी बद्रीधाम निर्माणका लागि सरकारले रु ६ करोड पनि दिएको छ । प्रतिष्ठानका अनुसार श्रीमद्भागवत र सप्ताहबाट पनि रु ६ करोड उठेको छ तर धाम निर्माणका लागि यति मात्र बजेट पर्याप्त भने छैन ।

प्रतिष्ठानका संरक्षक अध्यक्ष दीनबन्धु पोखरेलले नेपालमै बद्रीधाम भएमा भारत जान नसक्ने तर दर्शन गर्न चाहने भक्तका लागि सजिलो हुने बताए । उनले भने, ‘धाम निर्माण भएपछि नेपालको धर्मसंस्कृत विश्वभर फैलाउन, हाम्रो आफ्नै विचारलाई संसारसामु स्थापित गर्न हामीले काम गर्नेछौँ, नेपाललाई साधना भूमिका रुपमा चिनाउनुपर्छ, हाम्रो धर्म संस्कृति विश्वमा अनुपम छ ।’

प्रतिष्ठानका महासचिव डा. विष्णु खनालले बद्रीधाम निर्माणका लागि जग राख्ने काम भइसकेको, अब मन्दिर निर्माण गर्दै बद्रीनाथको मूर्ति राख्ने र पूजा शुरु गर्ने लक्ष्य लिइएको जानकारी दिए ।

धार्मिक पुराणबाट जनतालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने थालनी स्वर्गीय पं नारायण पोखरेलले गरेका राससले जनाएको छ । हाल प्रतिष्ठानका संरक्षक अध्यक्ष उनकै सुपुत्र पुराणवाचक दीनबन्धु पोखरेल रहेका छन् ।

वास्तविक बद्रीनाथको तस्बिर गुगलबाट