प्रचण्डले भने, ‘मेरो प्रतिस्पर्धी नै छैनन्’

प्रचण्डले भने, ‘मेरो प्रतिस्पर्धी नै छैनन्’


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो कोही प्रतिद्वन्दी नभएको बताएका छन् ।

सोमबार चितवनको पार्वतीपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतन्त्रको पक्षधर नेपाली कांग्रेसले आफ्नो उमेदवार नउठाएर राजतन्त्रको पक्षधर राप्रपा (प्रजातान्त्रिक)को उमेदवार विक्रम पाण्डेलाई अघि सारेको बताउँदै उनी आफ्नो प्रतिस्पर्धी नभएको बताए ।

अध्यक्ष दाहालले भने, ”कांग्रेस नेता उमेदवार भए पो प्रतिस्पर्धी छ भन्नू, चितवन ३ मा कांग्रेसका थुप्रै नेताहरु थिए, कांग्रेसकै नेता उठेको थिए भने मेरो प्रतिस्पर्धी छन् भन्न हुन्थ्यो ।”

उनले कांग्रेसले गणेशमान र बिपीको अपमान गरेको आरोप समेत लगाए । उनले अगाडि थपे, ” राजा फाल्न, गणतन्त्र ल्याउन संघर्ष गरेको कांग्रेसले हलोमा भोट हाल्दा बिपीको अपमान र गणेशमानको अपमान हुन्छ । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजा बाबुको अपमान हुन्छ । गणतन्त्र र संघीयताको अपमान हुन्छ ।”

उनले गिरिजाप्रसाद कोइरालाले आफूलाई मुलुकको जिम्मा दिएको दाबी पनि गरे । ”जीवनको अन्तिम क्षणमा गिरिजाबाबु अस्पतालमा हुनुहुन्थ्यो, म भेट्न गएँ । उहाँले प्रचण्डजी यो देश तपाईंलाई जिम्मा लगाएर जाँदैछु भन्नुभयो । कांग्रेसलाई जिम्मा लगाएर जाँदैछु भन्नुभएन । त्यो गिरिजाबाबुको गणतन्त्रप्रतिको निष्ठा थियो । अहिले राप्रपालाई बोकेर कांग्रेसले गणतन्त्रप्रतिको प्रतिवद्दता भूल्न खाजेको छ,” उनले भने ।

चितवन क्षेत्र नम्बर ३ का उमेदवार दाहालले अब नेपालमा कम्युनिष्ट र कांग्रेसबीच मात्र प्रतिस्पर्धा हुने पनि बताए ।