पैसा बाँड्न आउने उम्मेदवारलाई युवाले गरे गाउँमा प्रवेश निषेध

पैसा बाँड्न आउने उम्मेदवारलाई युवाले गरे गाउँमा प्रवेश निषेध


म्याग्दीको बेनी नगरपालिकास्थित पुरुण्डी गाउँका दलित युवाहरुले पैसामा भोट किन्न आउनेहरुलाई गाउँमा नै प्रवेश निषेध गरेका छन् । अगाडिका निर्वाचनमा पैसाको चलखेल हुने गरेको भनेर आरोप लाग्दै आएको पुरुण्डीका युवाले आफूहरुलाई पैसा होइन अधिकारी चाहिएको बताउँदै यो निर्णय गरेका हुन् ।

स्थानीय तह निर्वाचनमा पुरुण्डी गाउँमा पैसा, खाद्यान्न र लत्ताकपडा बाँडिएको घटना निर्वाचनपछि बाहिर आएको थियो । युवाहरुले आफूहरुलाई पैसा, खाद्यान्न र लत्ताकपडा दिनुको सट्टा गाउँमा खानेपानी, सर्वसुलभ शिक्षा र खेलमैदान लगायतको समस्या हल गरिदिन उम्मेदवारहरुलाई आह्वान गरेका छन् ।

न्यु बरनाथ सामुदायिक विकास युवा क्लबमा आबद्ध युवाले जनताको अमूल्य मतलाई किन्न खोजेर गाउँकै बदनामी गरेकाले त्यस्ता नेताहरुलाई यसपटक गाउँमा प्रवेश गर्न नै नदिने घोषणा गरेको क्लबका अध्यक्ष विनोद परियारले बताए ।

उनले भने, ‘स्थानीय निर्वाचनमा दलित समुदायका केही व्यक्तिमार्फत गाउँका वृद्धवृद्धा र अशिक्षित व्यक्तिहरुलाई प्रलोभन देखाएर अमूल्य मत किन्न खोजेका कारण गाउँकै बेइजत भयो त्यसैले हामी युवा मिलेर यसपटक भोट किन्न आउनेहरुलाई गाउँमा प्रवेश नै गर्न नदिने अभियान चलाएका हौँ।’

उनले भने, ‘गाउँमा अशिक्षा र गरिबी छ, सबैले आफ्नो पसिना बगाएर खाएका छन्, लाउन र खान नपाएका छैनौँ तर जिल्लाका केही नेताहरुले यस गाउँलाई बदनाम गर्ने गरी जसरी भोट किन्ने गरेका छन, त्यसविरुद्ध हामीले गाउँको स्वाभिमान र अमूल्य मतलाई खेर नफाल्नको लागि यसो गर्न बाध्य भयौँ।’

१ सय १० घरधुरीको बसोवास रहेको पुरुण्डी गाउँमा अधिकांश दलित समुदाय छन् । क्लबले निर्वाचनमा कसैले पैसा अथवा कुनै सामग्री लिएको थाहा पाएमा उनीहरुलाई समेत कारबाही गर्ने जनाएको छ ।

गाउँमा भित्रने नेताहरुको निगरानीको लागि क्लबकै युवाहरुलाई परिचालन गरिएको छ। निर्वाचनमा पैसा बाँडिनु आचारसंहिताविपरीत हुने भए पनि राजनीतिक दलहरुले भने विभिन्न माध्ययमबाट विशेषगरी दलित समुदायका अशिक्षित, विपन्न परिवारका मतदाताकहाँ आर्थिक चलखेलमार्फत मत प्रभावित गर्ने गरेका छन् ।