भोट माग्न पर्सा पुगेकी करिश्माले गरिन् यस्तो आग्रह

भोट माग्न पर्सा पुगेकी करिश्माले गरिन् यस्तो आग्रह


नयाँ शक्ति पार्टीका पर्सा संयोजक बलिराम साहले पार्टीप्रति गम्भीर कुठाराघात गरेको सो पार्टीले खुलासा गरेको छ । बाढीपीडितका लागि पार्टीका तर्फबाट दिइएको पचास हजार रुपैयाँ पीडितलाई नबाँडि पार्टी नै छोडेर एमाले प्रवेश गरेको अभियोग बाबुराम भट्टराईको नयाँ शक्तिले बलिराममाथि लगाएको छ ।

यसबारे जानकारी दिन आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका केन्द्रिय नेता करिश्मा मानन्धरसमेत उपस्थित थिइन् । मानन्धरको उपस्थितिमा नयाँ शक्तिका जिल्ला नेताहरूले पूर्व जिल्ला संयोजक साहको धज्जी उडाएका थिए । षडयन्त्रकारी सोच भएका साहलाई पार्टीले पटक–पटक मौका दिए पनि त्यसको महत्व उनले बुझ्न नसकी पार्टीलाई घात गरेको आरोप नयाँ शक्तिका नेताहरूले लगाएका थिए ।

पार्टीबाट समानुपातिक सूचीमा परेकी करिश्मा मानन्धरचाहिँ भोट माग्न पर्सा आएकी बुझिएको छ । उनले ‘सबैको लागि समृद्धि सबैलाई सम्मान राज्यसत्ताका तहमा सबैको पहुँच समान’ भन्ने नारा सार्थक पार्नका लागि समानुपातिक भोट आँखा चिन्हमा प्रदान गर्न पर्सावासीसँग आग्रह गरिन् । राम रिझन यादवद्वारा संयोजन गरिएको सो कार्यक्रमबीच महिला नेतृ मोनिका सिंहको संयोकत्वमा प्रचारप्रसार समिति गठन गरिएको जानकारी दिइएको थियो ।

– प्रणय साह