काँग्रेस उम्मेदवारसहित ४ जनाको घरजग्गा विप्लवको कब्जामा

काँग्रेस उम्मेदवारसहित ४ जनाको घरजग्गा विप्लवको कब्जामा


नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काँग्रेसका उम्मेदवार र नगर प्रमुखसहित चार जनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ । लामीडाँडा गाउँपालिका–२ खार्पा घर भएका उम्मेदवार पोखरेलले गुण्डा र पैसाको बलमा चुनाव जित्ने प्रयत्न गरेको तथा नगर प्रमुख राईले चुनाव जितेर देश लुट्न लागी परेकाले घरजग्गा तथा सम्पत्ती नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसबाट प्रदेशसभा १ का प्रत्यक्षतर्फको उम्मेदवार सुवाशकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिं बस्नेत र बस्नेतका छोरा गिरीराज बस्नेतको घरजग्गा तथा सम्पत्ती नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको हो ।

यस्तै, बस्नेत परिवारले स्थानीय सोझासिधा जनतालाई शोषण तथा दमनमा पारेर शासन गरेकाले नियन्त्रणमा लिइएको नेकपाले विज्ञप्तिमार्फत दावी गरेको छ । नियन्त्रित घरजग्गा तथा उनीहरुको चलअचल सम्पत्ती स्थानीय जनताले उपभोग गर्ने उनीहरुको घरघरमा टाँसिएको विज्ञप्तिमा उल्लेख छ । नगर प्रमुख राईको घरमा शनिबार राति विज्ञप्ति टाँस्नुका साथै आँगनमा पार्टीको झन्डा गाडेको तथा अन्यको विभिन्न समयमा विज्ञप्ति टाँसेको पाइएको छ ।

नगर प्रमुख राईका अनुसार हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगरसभाबाट आधा बजेट आफूहरुलाई बिनियोजन गर्न उक्त पार्टीले माग गर्दै आएको थियो । ‘उनीहरुले हाम्रो पनि समानान्तर सरकार छ भन्थे ।’ नगर प्रमुख राईले भने, ‘आधा कार्यक्रम हामी सञ्चालन गर्छाैं भन्दै पटक–पटक बजेट माग ग¥थ्यो ।’

नगर प्रमुख राईलाई आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार–प्रसारमा नहिँड्न समेत चेतावनी दिँदै आएको जनाइएको छ । ‘चुनाव प्रचारप्रसारमा नहिँड्नु भनेर मलाई थ्रेट दिँदै आएका थिए ।’ काँग्रेसबाट नगर प्रमुखमा विजयी राईले भने, ‘मलाई मात्र किन पटक–पटक थ्रेट दिइरहेका छन्, मलाई थाहा छैन । शनिबार त घरजग्गा नियन्त्रण भएको विज्ञप्ति समेत टाँसी दिएछ ।’

विप्लव कार्यकर्ताको पटकपटकको दम्कीपछि खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी र प्रहरी नायब उपरीक्षक लोकदर्शन थापालाई समेत जानकारी गराएको नगर प्रमुख राईले बताए । जिल्लामा उक्त पार्टीको गतिविधिका विषयमा गम्भीर भएर अनुसन्धान थालिएको प्रनाउ थापाले बताए ।