महिला हिंसाको उजुरी गर्न नि:शुल्क हेल्पलाइन नम्बर

महिला हिंसाको उजुरी गर्न नि:शुल्क हेल्पलाइन नम्बर


राष्ट्रिय महिला आयोगले हिंसापिडित महिला र बालिकाको उजुरी सुन्न २४ घण्टा सेवा दिने आन्तरिक तयारी पूरा गरेको छ । यसका लागि आयोगले हेल्पलाइन सञ्चालन निर्देशिकासमेत बनाएको छ । आयोगले विश्व बैंकको आर्थिक सहयोगमा यो परियोजना संञ्चालन गर्न लागिएको हो ।

हेल्पलाइनको शुल्क नलाग्ने नम्बर ११४५ बाट २४ घण्टा उजुरी दिन मिल्ने आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेले बताइन् । ‘आगामी डिसेम्बर १० बाट यो सेवा सुरु हुनेछ, सम्पूर्ण तयारी भइसकेको छ,’ घिमिरेले भनिन् । हेल्पलाइनमार्फत आयोगले उजुरी सुन्ने, तत्काल उद्दार गर्ने, परामर्श दिने र पुनस्र्थापनासमेत गर्ने परियोजना प्रबन्धक पलिता थापाले बताइन् ।

यसमार्फत हिंसा पीडितले मात्रै नभएर हिंसा देख्ने साक्षीले समेत उजुरी दिन सक्ने थापाले बताइन् । सेवाका लागि आयोगले आठजना परामर्शदातासमेत नियुक्त गरिसकेको छ । हिंसा उजुरीलाई छिटोछरितो र सहज बनाउनका लागि आयोगले एप सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।