चुनाव प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु

चुनाव प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु


नेपाली कांंग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भिरबाट लडेर मृत्यु भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी घर भएका ४९ वर्षीय विश्वकर्मा आइतबार कांग्रेसको टोलीसँग गाउँमा भोट माग्न गएका थिए । गाउँमा भोट मागेर राति घर फर्किएका उनको स्थानीय साल्लेभिरबाट लडेर मृत्यु भएको हो ।

घरबाट बिहान सबेरै हिँडेका उनी रातभर नआएपछि खोजी गर्ने क्रममा सोमबार मृत फेला पारिएको मृतकका आफन्तले बताएका राससले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ लगिएको र मृत्युको बारेमा अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

भिरबाट करिब २० मिटर तल मृतावस्थामा भेटिएका उनी लामो समयदेखि राप्रपाका क्रियाशील कार्यकर्ता रहेको जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।