नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि पश्चिम नेपालको भ्रमण गर्नुहुने भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार आज प्रधानमन्त्री नेपालगञ्ज प्रस्थान गर्नुहुनेछ भने आजै उहाँले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसंग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नुहुनेछ ।
मंगलबार नै प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
बताइएअनुसार प्रधानमन्त्री देउवा २९ गते बुधबार धनगढी पुग्ने कार्यक्रम छ । सो दिन उहाँले पार्टीका उम्मेद्वार तथा नेता र कार्यकर्ताहरुसंग भेटघाट गर्नुहुनेछ र बुधबार नै प्रधानमन्त्रीले अन्य पार्टीका नेता, कार्यकर्तासंग सम्वाद गर्नुहुनेछ । सभापति देउवाले धनगढीमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने राजनीतिकर्मीहरुलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।
कात्तिक ३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले गृहजिल्लालाई नै मुकाम बनाएर सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लाको निर्वाचन अभियानलाई गति दिदै आमसभाहरुलाई संबोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक खाणका अनुसार प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभाहरुलाई संबोधन गर्ने कार्यक्रम छ ।
मंसिर २ गते प्रधानमन्त्री देउवाले बझाङ्ग र बाजुराका आमसभाहरुलाई संबोधन गर्नुहुनेछ । जिल्ला भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीहरुसंग जानकारी लिनुका अतिरिक्त नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री त्यसपछि रुकुम,रोल्पा जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभाहरुलाई संबोधन गर्न पनि जाने कार्यक्रम रहेको छ तर दिन भने निर्धारित भएको छैन ।
निर्वाचनको प्रचार अभियान प्रारम्भ भएपछि विपक्षी दलहरुको तुलनामा नेपाली कांग्रेसको स्थिति झन सुदृढ हुँदै गएको पनि नेता खाणले दाबी गर्नुभएको छ ।
उहाँले पहिले ८० सीट जित्ने दावी गरिएकोमा त्यसमा केही थपिने स्थिति रहेको बताउनुभयो । प्रधानमन्त्री तथा पार्टी सभापतिले २५ गते ताप्लेजुङबाट आरम्भ गर्नुभएको चुनावी अभियानको निकै राम्रो प्रभाव परेको पनि उहाँले बताउनुभयो ।
संविधानको रक्षा, नागरिक अधिकारको रक्षा, स्थानीय विकास, कृषि प्रविधि र आधुनिकीकरण,धार्मिक स्वतन्त्रता र पर्यटन विकासका बारेमा नेपाली कांग्रेसको धारणा स्पष्ट पार्न ती सभाहरु अत्यन्तै फलदायी भएको जिकीर उहाँले गर्नुभयो ।
ताप्लेजुङमा अलैची खेतिको अनुसन्धान र बजार विस्तारको लागि केन्द्र स्थापना गर्ने पाँचथरमा किराँत धार्मिक गुरु फाल्गुणानन्दको तपोभूमिलाई व्यवस्थित तवरले विकास गरी संसारभर कीर्ति फैलाउन विकास समिति गठन गर्न नेपाली कांग्रेसले प्रतिबद्धता व्यक्त गरेको पनि खाणले बताउनुभयो । उहाँले स्थानीय र रणनीतिक सडकहरुको स्तरोन्नति, पर्यटकीय र धार्मिक स्थलहरुको संरक्षण र सम्बर्धनका विषयलाई पनि नेपाली कांग्रेसले गम्भीरतापूर्वक समाधान गर्ने वचनबद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ सीट मध्ये ३५ स्थानमा आफ्ना उम्मेदवार उठाएको छ भने प्रदेशसभाका ७४ सीट मध्ये ८ वटा गठबन्धनका अन्य दलहरुलाई दिएर ६६ सीटमा आफ्ना उम्मेदवार उठाएको छ । यस्तै, दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका १ सय २८ सीटमा १० अरुलाई समर्थन गर्दै नेपाली कांग्रेसले १ सय १८ सीटमा आफ्नो उम्मेदवारी दिएको छ ।
प्रतिक्रिया