यादव-मत तान्न उपेन्द्रको स्तुतीगान !

यादव-मत तान्न उपेन्द्रको स्तुतीगान !


– हेमशंकर सिंह

राजविराज । स्थानीय निर्वाचनका बेला उपेन्द्र यादवको कटु आलोचक रहेका राजपाका महासचिव मनिसकुमार सुमन यतिखेर उनको स्तुतीगान गर्न थालेका छन् । सप्तरीको क्षेत्र न. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवकै क्षेत्रबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका सुमन यतिबेला चुनावी सभाहरूमा अधिकांश समय यादवकै प्रशंसा गर्नमा समय खर्चिने गर्दछन् । सुमन सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट राजपाको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार हुन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम स्थानीय निर्वाचनमा सहभागी भएपछि यादवले राज्यद्वारा ५० करोड लिएर मधेस–आन्दोलनलाई नै बेचेको आरोप सुमनले लगाएका थिए । राजपा अध्यक्ष मणडलका सदस्य राजेन्द्र महतोसहित राजपाका शीर्ष नेता सहभागी राजविराजको एक सभा र सामाजिक संजालमार्फत सुमनले यादवमाथि सो आरोप लगाएका थिए । त्यतिबेला सुमनलाई तथानाम गाली गर्दै फोरमसर्मथकहरूले धम्क्याएपछि उनले आफूलाई असुरक्षित महसुस गरेको कुरा पनि प्रकाशमा आएको थियो । त्यसबेला उनको नागकितामाथि समेत प्रश्न उठाइएको थियो ।

मधेसको अल्पसंख्यक कायस्थ जातिका सुमन आफ्ना उतेजित भाषणकलाका कारण जिल्लामा चर्चित रहे पनि जातीय समिकरणमा कमजोर छन् । उनका अन्य तीन प्रतिष्पर्धी बहुसंख्यक यादव जातिकै छन् । तर यादवको मतबिना आफु चुनावी मैदानबाट बाहिरिने स्थिति देखेपछि उपेन्द्र यादवकै बुई चढेर चुनाव जित्ने रणनीतिमा उनी लागेका बुझिएको छ ।

उपेन्द्र यादवको स्तुतीगान गरेर यादव मत तान्न सुमन अहिले यतिसम्म भन्न हिच्किचाउँदैनन् कि ‘उपेन्द्र यादवले बिबिसीको अन्तरवार्तामा भोली देशमा हावा बग्दैन भनेपछि मौसमविदहरू हावा कसरी बगाउने भनि चिन्तित हुन्छन्, तर देशमा साँच्चै त्यो दिन हावा बग्दैन ।’

राजविराजको मुस्लिम बस्तीमा हिजो सोमवार आयोजित एक चुनावीसभामा सुमनले उपेन्द्र यादवकै अगाडि यस्तै भने । उनले अगाडी थपे– ‘उपेन्द्र यादवले बिबिसीमा भोली मधेस बन्द भनेपछि मधेस बन्द हुन्छ र देश थर्किन्छ ।’

बाम गठबन्धन जिते एकदलीय शासन ब्यवस्था लागु हुनुका साथै देशमा नयाँ तानासाहको जन्म हुने आशङ्का पनि उनले जनाए । बाम गठबन्धनका प्रतिष्पर्धी माओवादी केन्द्रका केन्द्रिय सदस्य महेश यादवप्रति लक्षित गर्दै उनले भने– यादव शहिद रमेश महतोको लाश लिएर भाग्ने लुटेरा हुन्, उनी भोट माग्न आए उनलाइ सोध्नुस् रमेश महतोको लास लिएर किन भागेको ?’

मधेसविरोधी संविधानमा हस्ताक्षर गर्नेलाई मत नदिन आग्रह गर्दै सुमनले भने– ‘मधेसी गठबन्धनबाट आक्रोशित भई पैसाको दम्भमा केही ब्यक्ति चुनावी मैदानमा उत्रेकाले तिनिहरूँंग सचेत रहनुस् ।

कार्यक्रमलाई सम्बोधन गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले पहिलो संविधानसभामा मधेशवादभित्र कमजोरी देखिएको स्वीकार गर्दै भने– ‘कमजोर प्रवृत्तिका पात्रहरू पार्टी फोडेपछि कांग्रेसमा फर्के, जहाँबाट आएका थिए त्यतै गए ।’