सत्ताधारी दललाई मात्रै सरकारले सुरक्षा दिएको एमालेको आरोप

सत्ताधारी दललाई मात्रै सरकारले सुरक्षा दिएको एमालेको आरोप


सत्तापक्षका उम्मेदवारलाई मात्र सरकारले सुरक्षा दिएको भन्दै नेकपा एमालेले कडा अपत्ती जनाएको छ ।

शेरधन राईलाई लक्षित गरी आज भएको बम अक्रमणपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तीमा सरकारले सत्तापक्षका उम्मेदवारलाई मात्रै सुरक्षा दिईरहेको आरोप लगाए ।

उनले बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहनु दुखद रहेको बताएका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ ।’

उनले यस्ता घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग समेत गरेका छन् । घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न समेत एमालेले आग्रह गरेको छ ।

बम प्रहारमा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने खेल भएको एमालेले जनाएको छ ।