भक्तपुर–१ मा दलहरुबीच कडा प्रतिस्पर्धा हुने

भक्तपुर–१ मा दलहरुबीच कडा प्रतिस्पर्धा हुने


आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीको विरासत जोगाउने र भत्काउने दल बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

२०४८ देखि लगातार निर्वाचन जित्दै आएका नेमकिपा अध्यक्ष बिजुक्छेले यसपटक नयाँ पुस्तालाई अघि सार्ने भन्दै पार्टी सचिव प्रेम सुवाललाई उठाएपछि यस क्षेत्रको प्रतिस्पर्धामा अन्य दल उत्साहित भएका हुन् ।

उक्त क्षेत्रमा बिजुक्छेको व्यक्तित्वका कारण नेमकिपाले चुनाव जित्दै आइरहेको र यसपटक बिजुक्छेले उम्मेदवारी नदिएपछि हुने प्रतिस्पर्धामा आम मतदाताको पनि चासोको विषय बनेको छ । बिजुक्छेले यस क्षेत्रको भक्तपुर नगरभित्र धेरै सुधारका काम गरे पनि भक्तपुर नगर बाहिरको क्षेत्रमा केही गर्न नसकेको आरोप पनि उत्तिकै छ । भक्तपुर नगर उनको जन्मथलो पनि हो ।

पञ्चायतकालमा चुनावलाई जनताको पक्षमा उपभोग गर्ने नेमकिपाको नीतिअनुसार २०३९ र २०४४ वडाध्यक्षमा चुनाव जितेका पार्टी सचिव सुवाल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुखमा विजयी भएका थिए ।

त्यसैगरी २०६४ सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका सुवालले रूपान्तरित संसदमा समेत प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरेका थिए ।

उनी नगर प्रमुख हुँदा नेपालमै पहिलो पटक नगरपालिकाबाट विद्यालय सञ्चालनको कार्य गर्नुका साथै न्यूनतम शुल्कमा कलेजसमेत सञ्चालन गरेर स्थानीय जनतालाई शिक्षा आर्जनको अवसर दिइएको थियो । राज्यबाट शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने नेमकिपाले माग गरेपनि उक्त नगरपालिकाले सञ्चालन गरेको विद्यालय र कलेजमा शिक्षा निःशुल्क भने हुन सकेको छैन ।

फेरि पनि संसदमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई खबरदारी गर्न आफ्नो उम्मेदवारी रहेको चर्चा गर्दै उम्मेदवार सुवालले भने, “विगतमा देश र जनताका भावनाअनुसार गरेको कामको मूल्यांकन गर्दै जनताले नै फेरि एकपटक जनताको सेवा गर भनेकाले देश र जनताका लागि नै मेरो उम्मेदवारी हो ।”

उनले आफ्ना पार्टी अध्यक्षले लगातार पाँच पटक चुनाव जितेर यस क्षेत्रको विकासमा पुर्याएको योगदानको कदरस्वरूप यसपटक भक्तपुर १ का मतदाताले आफूलाई जिताउने विश्वास व्यक्त गरे । उम्मेदवार सुवालले भने, “नेमकिपा मात्र एउटा यस्तो पार्टी हो, जसले देशको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनताको रक्षाको निम्ति लडेको छ । संसद्मा आवाज उठाएको छ । हाम्रो यही भूमिकाको मूल्यांकन नै नेमकिपालाई विजयी गराउने आधार हो ।”

त्यसैगरी नेपाली कांग्रेसले भक्तपुर १ मा वरिष्ठ अधिवक्ता बाबुराजा जोशीलाई उठाएको छ । नेपाल कानून आयोगका अध्यक्षसमेत भइसकेका जोशी जिल्ला बारबाट वरिष्ठ अधिवक्ताको उपाधि पाउने पहिलो अधिवक्ता हुन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका जोशी विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका हुन् । २०४४ को निर्वाचनमा जनपक्षीय उम्मेदवारको प्रस्तावक बनेका जोशीले भक्तपुरका कांग्रेसको संगठन स्थापना र विस्तारका साथै विभिन्न पदमा बसेर कार्य गरेका छन् । पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै हाल महासमिति सदस्य रहेका उनले आफ्नो उम्मेदवारी भक्तपुरमा लोकतन्त्र स्थापनाको लागि भएको बताए ।

मुलुकमा धेरै अघि लोकतन्त्र आए पनि लोकतान्त्रिक आन्दोलनमा अहम् भूमिका निर्वाह गरेको भक्तपुरमा अझै एक दलीय व्यवस्था समाप्त हुन नसकेको जिकिर गर्दै त्यसैको अन्त्यको लागि आफ्नो उम्मेदवारी भएको जोशीले जानकारी दिए ।

लोकतन्त्र स्थापनाका लागि कांग्रेसले निर्वाह गरेको भूमिका, संविधान निर्माणको नेतृत्व, संविधान कार्यान्वयनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका नै आफ्नो जितको आधार भएको उल्लेख गर्दै उनले कानूनी पेशाको माध्यमबाट लामो समयदेखि भक्तपुरका जनताको पक्षमा गरेको कामको मूल्यांकन पनि भक्तपुरका जनताले गर्ने आफ्नो अपेक्षा रहेको र भक्तपुरका जनताको परिवर्तनको चाहना पनि आफ्नो जितको आधार बन्ने बताए ।

लोकतान्त्रिक गठबन्धनअन्तर्गत यस क्षेत्रमा बलियो उपस्थिति रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको पनि समर्थन रहेकाले यसपटक भक्तपुर १ मा नेमकिपाको किल्ला भत्किने जोशीको दाबी छ ।

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनमा भएको सहमतिअनुसार भक्तपुर क्षेत्र नं १ मा माओवादी केन्द्रका मिलन सुवाल पनि चुनावी प्रतिस्पर्धामा छन् । विद्यार्थीकालदेखि राजनीतिमा प्रवेश गरेका सुवाल सम्मुनत राष्ट्र निर्माण गर्न, देशलाई स्वाधिन, समृद्ध र समाजवादको दिशामा अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । उम्मेदवार सुवालले भक्तपुरमा विद्यमान वर्ग विभाजनको अन्त्य गरी समतामूलक समाज निर्माण, किसान वर्गको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

दुई तिहाइ बहुमतसहितको वामपन्थी सरकार निर्माण गरी दिगो शान्ति र स्थिरता, भ्रष्टाचार मुक्त मुलुक निर्माण र मूलतः समाजवादका आधार तयारी गरी नयाँ युगमा प्रवेश गर्न आफूले उम्मेदवारी दिएको पनि उनले उल्लेख गरे ।

यस क्षेत्रमा २०७० सालको संविधानसभा निर्वाचनमा नेमकिपाका बिजुक्छेले २० हजार ४४६, नेपाली कांग्रेस कृष्णलाल भँडेलले १२ हजार ८२६, नेकपा एमालेका रञ्जु नापितले ५ हजार ६६८, माओवादीका सानु सुवालले ६ हजार २१६ र राप्रपाका रवीन्द्र प्रताप शाहले ४ हजार ४५८, राप्रपा नेपालका माधव खत्रीले दुईहजार ६४३ मत प्राप्त गरेका थिए ।
भक्तपुरमा यस पटक क्षेत्र निर्धारण गर्दा विगतको सिमाना हेरफेर गरिएको छ । राससका अनुसार यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकाको आधा भाग यस क्षेत्रमा रहेकोमा यसपटक मध्यपुर थिमि क्षेत्र नं २ मा पारेको छ भने यसअघि क्षेत्र नं २ मा रहेको भक्तपुर नपाको भाग यस पटक क्षेत्र नं १ मा सारेको छ भने यस क्षेत्रमा चाँगुनारायण नगरपालिका छ ।

स्थानीय तहको निर्वाचनको मतलाई विश्लेषण गर्दा यस क्षेत्रमा नेमकिपाको ३० हजारभन्दा बढी मत छ भने नेपाली कांग्रेसको १४ हजार ५००, नेकपा एमालेको १३ हजार, राप्रपाको छ हजार, माओवादीको तीन हजार मत देखिन्छ ।