पर्सामा कांग्रेसको प्रदेशस्तरीय मिडिया सेन्टर

पर्सामा कांग्रेसको प्रदेशस्तरीय मिडिया सेन्टर


वीरगञ्ज । नेपाली कांग्रेसको प्रदेशस्तरीय मिडिया सेन्टर वीरगञ्जमा शुरु भएको छ । कांग्रेसका नेता तथा पर्सा–४ का प्रतिनिधिसभाका उम्मेदवार रमेश रिजालले मिडिया सेन्टरको उधघाटन गरेका हुन् । प्रदेश २ को तीन जिल्ला पर्सा, बारा र रौतहट कार्यक्षेत्र रहेको मिडिया सेन्टरले यस क्षेत्रका नेपाली कांग्रेसका गतिविधिलाई सञ्चार माध्ययमार्फत जनमानसमा लिएर जाने बताइएको छ ।

मिडिया सेन्टर उदघाटन कार्यक्रममा बोल्दै नेता रिजालले लोकतन्त्र र संविधानमाथि कम्युनिष्ट आक्रमणको खतरा बढेको औंल्याउँदै त्यसलाई परास्त गर्न लोकतन्त्रवादीहरू एक ठाउँमा आउनुपर्ने बताए ।

यस्तै, नेपाली कांग्रेसका तर्फबाट पर्सा ३ ख का प्रदेश सभाका उमेद्वार जनार्दन क्षेत्रीले खतरनाक एजेण्डा लिएर कम्युनिष्ट गठवन्धन लागेको आरोप लगाए । सबैले जिउने पाउने अधिकार, नागरिक स्वतन्त्रता र लोकतन्त्र रक्षाका लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनलाई देशभर जिताउनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । पहिचानको मुद्धा र मधेशको सम्मानको लागि कांग्रेसले जित्नुपर्ने क्षेत्रीले बताए ।

नेपाली कांग्रेस केन्द्रीय चुनाव परिचालन समितिका सदस्य शोभाकर पराजुलीले संविधान बन्न नपाउँदै संविधान च्यात्ने र नागरिक अधिकार कुण्ठित गर्न वाम गठबन्धनका नाममा एक भएका कम्युनिष्टहरुलाई परास्त गर्नुपर्ने तर्क गरे भने नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार उपसमितिका सदस्य तथा प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले लोकतन्त्रमाथि नै कम्युनिष्ट अधिनायकी लाद्ने खतरा रहेको बेलामा सबै स्वतन्त्रताप्रेमीहरू एक भएर लोकतन्त्रको रक्षामा जुट्नुपर्ने उल्लेख गरे । कार्यक्रममा वीरगञ्जका पत्रकार अशोक तिवारीको नेतृत्वमा ७ सदस्यीय मिडिया सेन्टर गठन भएको छ ।