कांग्रेस उम्मेदवारलाई लक्षित गरी म्याग्दीमा बम बिस्फोट

कांग्रेस उम्मेदवारलाई लक्षित गरी म्याग्दीमा बम बिस्फोट


बेनी : म्याग्दीको बेनी नगरपालिका-१ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी माइन बम बिस्फोट गराइएको छ । बम बिस्फोट हुँदा गाडीमा सामान्य क्षति पुगेको छ । विस्फोटमा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बम विस्फोटले सवारी साधनका सिसा फुटेको प्रचार टोलीमा सहभागी तरुण दलका सदस्य सुमन श्रेष्ठले जानकारी दिए ।

बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेको कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी बम बिस्फोट गराइएको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिने म्याग्दीमा सोही समूहले नै विस्फोट गराएको प्रहरीको अनुमान छ । प्रहरीले चारदिन अघि सो समूहका तीन कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । चुनाव प्रचार टोलीमा गर्बुजासहित लोकतान्त्रिक मोर्चाबाट प्रदेश ‘क’ का उम्मेदवार भीमप्रसाद गौचन, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवाल लगायत सहभागि थिए ।