थापाको प्रतिबद्धता– ‘जनताको सेवक बन्छु’

थापाको प्रतिबद्धता– ‘जनताको सेवक बन्छु’


विर्तामोड । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ प्रतिनिधिसभाका उम्मेदवार उद्वव थापाले जनताको सेवक बनेर राष्ट्रको उन्नतिका लागि सदा क्रियाशील रहने प्रतिबद्धता जनाउनुभएको छ ।

झापा क्षेत्र नं–२ अन्तरगत विर्तामोड नगरपालिका वडा नं–५ का पाथीभरा टोल, महानन्द चोक, सुब्बाचोक, धिमालबस्ती, न्युटन्सचोक, बुद्धनगरलगायतका ८ बढी स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कांग्रेसले जितेमा विर्तामोड शहरका सडक, ढल निकास, बाटो मर्मत गरी स्मार्ट सिटी बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

शिक्षित बेरोजगारलाई स्वदेशमै रोजगारीको सिर्जना तथा बेरोजगार भत्ताको ब्यवस्था गर्ने, बृद्ध भत्ता बढाएर ४ हजार पु¥याउने, भूमिहिन सुकुम्बासीलाई ब्यवस्थित आवासको ब्यवस्था गर्नेलगायतका प्रतिबद्धता थापाले ब्यक्त गर्नुभएको हो ।

‘अहिलेको निर्वाचनमा दलविशेष भन्दा पनि लोकतन्त्रलाई जोगाउने कि नजोगाउने भन्ने प्रश्न प्रमुख हो’, थापाले भन्नुभयो । लोकतान्त्रिक शक्तिलाई जिताउन थापाले मतदातासँग अपिल गर्नुभयो । एक अर्को फरक प्रसङ्गमा थापाले लक्ष्मण शिवाकोटी र नरेश थापाका परिवारलाई न्याय दिलाएरै छाड्ने बताउनुभयो ।

कार्यक्रममा झापा क्षेत्र नं–२ क्षेत्र क का कांग्रेस उम्मेद्वार लक्ष्मण खड्काले मुलुक राष्ट्रिय संकटमा रहेको यसबेलामा साम्यबाद रोज्ने कि लोकतन्त्र भन्ने प्रश्न प्रमुख भएकाले निर्वाचनमार्फत लोकतन्त्रवादी शक्तिलाई विजयी गराउन आग्रह गर्नुभयो ।

केदार मैनालीको सभापतित्वमा सम्पन्न कोणसभामा हर्कलाल गिरी, विरेन मेचे, जलकुमार गुरुङ, केशव श्रेष्ठ, नवप्रवेशी ध्रुव उपे्रतीलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

निर्वाचन प्रचार–प्रसार अभियान अन्तरगत विर्तामोड न.पा.–५ महानन्दचोकमा आयोजित कोणसभामा राप्रपा नेपालका युवा संघ केन्द्रीय सदस्य धु्रव उप्रेती, राप्रपा नेपालका जिल्ला सदस्य राम सिटौला, स्थानीय निकाय निर्वाचनमा वडा नं–५ बाट वडाध्यक्षका प्रत्यासी चन्द्र गिरी, राप्रपा मदजुर संघका जिल्ला सदस्य मोहम्मद मुस्ताफ, संघीय समाजवादीका इन्द्रबहादुर श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का प्रतिनिधिसभा उम्मेद्वार उद्वव थापा, प्रदेशसभा क का उम्मेद्वार लक्ष्मण खड्का, समानुपातिक उम्मेद्वार सिता पौडेल, निवर्तमान सभाषद सुधिरकुमार शिवाकोटी, अगुवा नेता हर्कलाल गिरी, स्थानीय निकाय निर्वाचनमा कांग्रेसका तर्फबाट विर्तामोड नपाको मेयरका प्रत्यासी जलकुमार गुरुङलगायतका अगुवा कांग्रेस कार्यकर्ताले अविर लगाउँदै नवप्रवेशीलाई स्वागत गरेका थिए ।