डेंगुको प्रकोप बढेपछि निजी क्लिनिकले गरे मनपरी

डेंगुको प्रकोप बढेपछि निजी क्लिनिकले गरे मनपरी


बुटवलमा डेंगुको संक्रमण बढेसँगै नीजि क्लिनिकहरूले सरकारी अस्पतालमा निःशुल्क हुने परीक्षणमा दुई हजार रुपैयाँ सम्म शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्यमन्त्री दिपक बोहराले कारवाहीको निर्देशन दिएका छन् ।

बुटबलमा डेगुको प्रकोप फैलिएको मौका छोपी एक किटको २ हजारसम्म शुल्क लिएको गुनासो आएपछि स्वास्थ्यमन्त्री बोहोराले क्षेत्रीय स्वास्थ्य निर्देशक, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखलाई त्यस्ता ल्याब तुरुन्त बन्द गर्ने निर्देशन दिएका हुन् ।

उनले डेंगु परीक्षण गर्ने किट अस्पतालबाट लिएर निःशुल्क परीक्षण गर्न निजी क्लिनिकहरूलाई निर्देशन दिंँदै यदि शुल्क लिएको पाइए ती क्लिनिकहरु बन्द गराइदिने चेतावनी दिए ।

किट चाहिए अस्पतालले दिन्छ, लिनुस् र न्युनतम शुल्क मात्र लिनुस् तर मौकाको फाइदा उठाउन सर्वसाधारण विरामीको ढाडै सेक्ने गरी चर्को शुल्क लिन पाइँदैन’– मन्त्री बोहराले निर्देशन दिंदै भने –‘विरामीको स्वास्थ्यसंग खेलवाड गर्न दिइँदैन ।

उनले लुम्बिनी अञ्चल अस्पतालमा बिरामीको चाप ज्यादै बढी भएकाले यसलाई मेडिकल कलेजको रुपमा विकास गर्न पहल गर्ने बताए । अस्पतालको स्तरबृद्धिका लागि आवश्यक पर्ने जग्गा व्यवस्थापन गर्न अस्पतालसँगै जोडिएको सेक्टर वन कार्यालयको २ बिघा जग्गा उपलब्ध गराउन पनि मन्त्रिपरिषद वैठकमा उनले प्रस्ताव गर्ने बताए ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले रुपन्देहीमा ७ सय ६९ जनामा डेंगुको संक्रमण भएको जानकारी गराएका थिए । डेंगुको संक्रमणबाट साउन यता रुपन्देहीका एकजना र अर्घाखांची शितगंगाका एकजना गरी दुई जना महिलाको मृत्यु भएको छ ।

२०७४ साउनदेखि दशैंसम्म १६ जनामा मात्रै डेंगु देखिएकामा दशैं लगत्तै डेंगुको संक्रमण ह्वात्तै बढेको जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केहरसिंह गोदारले जानकारी दिए । सर्वसाधारणसंगै २ जना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीमा पनि डेंगु रोगको संक्रमण देखिएको थियो ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दैनिक ३० देखि ४० जनामा डेंगुका विरामी आउने गरेकोे लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले बताए । सो कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक डा. विनोद गिरी,बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य,नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण, अस्पताल विकास समितिका अध्यक्ष रमेश खनाल,अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मी लगायतले आआफ्ना भनाई राखेका थिए ।

– चन्द्रकान्त खनाल