प्रदेश नम्बर २ को प्रतिनिधिसभा प्रत्यक्षतर्फको ३२ मध्ये मधेसकेन्द्रित समूहहरूले कति स्थानमा विजय हासिल गर्न सक्लान् भन्ने जिज्ञासा सर्वत्र प्रकट भएको छ । हालसम्मको चुनावी स्थितिको अध्ययन गर्दा मधेसकेन्द्रित दलहरूको नौ स्थान बढी सुरक्षित देखिएको छ । प्राप्त जानकारीअनुसार महन्थ ठाकुर (महोत्तरी–३), शरत्सिंह भण्डारी (महोत्तरी –२), मृगेन्द्रसिंह यादव (सप्तरी–४), डा. सूर्यनारायण यादव (सप्तरी–१), उपेन्द्र यादव (सप्तरी २), महाजन यादव (धनुषा–४), राजेन्द्र महतो (धनुषा–३), अश्वेश्वर यादव (सिरहा–३), अनिल झा (रौतहट–१) बढी सुरक्षित मानिएका छन् ।
यसरी बढी सुरक्षित मानिएको भए पनि सप्तरी– ४ मा काङ्ग्रेसका तेजुलाल चौधरीलाई काङ्ग्रेसले सम्भाव्य विजयको सूचीमा राखेको छ भने रौतहट–१ मा अनिल झा पनि ढुक्क हुन सक्ने स्थितिमा छैनन् । पर्साको चारवटै निर्वाचन क्षेत्र काङ्ग्रेसका उम्मेदवारसँग कतै वाम गठबन्धनको त कतै मधेसकेन्द्रित उम्मेदवारहरूको प्रतिस्पर्धा देखिएको छ । हाल देखिएजस्तै स्थिति चुनावसम्म कायम रह्यो भने मधेसकेन्द्रित समूहहरू आफ्नै प्रदेशको १५ भन्दा बढी स्थानमा विजय बन्न नसक्ने विश्लेषकहरूको अनुमान छ ।
प्रतिक्रिया