चुनावी तयारी तीव्र : ३२ जिल्लाका सदरमुकाममा निर्वाचन सामाग्री पुग्यो

चुनावी तयारी तीव्र : ३२ जिल्लाका सदरमुकाममा निर्वाचन सामाग्री पुग्यो


निर्वाचन आयोगले चुनावी तयारीलाई तीव्र बनाएको छ । यसैक्रममा आयोगले प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको चुनावका लागि आवश्यक सामाग्री सम्बन्धित ३२ वटै जिल्ला सदरमुकाममा  पुर्याएको छ ।

सदरमुकाम पुर्याइएका सामाग्री अब विशेष सुरक्षाका विच केही दिन पछाडी सम्वन्धित कार्यलयमा पुग्ने आयोगले जनाएको छ ।

विकट ठानिएका केही स्थानमा मतपत्र जस्ता संवेदनशील सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगका अनुसार दोस्रो चरणको निर्वाचनका लागि प्रत्यक्ष तर्फका मतपत्र छपाइ समेत अन्तिम चरणमा पुगेको छ ।

आवश्यक ६४ देखि ६७ प्रकारका निर्वाचन सामाग्रीमध्ये केही स्थानीय तहमै खरिद गरिएको र मतपत्र जस्ता संवेदनशील मानिएका सामाग्री केन्द्रबाट पठाइसकिएको जानकारी दिए ।

केही विकट हिमाली जिल्लामा स्वस्तिक छाप, मसी, नङमा लगाउने मसी, स्ट्याम्प प्याड, मतपत्र, सीलहरु, छेकाबारा जस्ता संवेदनशील सामग्री हेलिकप्टरबाट जिल्ला पुगिसकेका छन् ।

पहिलो चरण अन्तर्गत ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्र अन्तर्गत ४५ सयभन्दा बढी मतदान केन्द्रमा मतदान हुनेछ । मंसिर १० गते हुने सो निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा ९ जनासम्म कर्मचारी रहने बताइएको छ । दुवै चरणमा गरी झण्डै सवा २ लाख निर्वाचन कर्मचारी खटिनेछन् ।