उम्मेदवारको सुरक्षामा गम्भीर हुन मानव अधिकार आयोगको आग्रह

उम्मेदवारको सुरक्षामा गम्भीर हुन मानव अधिकार आयोगको आग्रह


आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारको सुरक्षामा गम्भीर हुन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

देशका विभिन्न स्थानमा उम्मेदवारलक्षित आक्रमण वृद्धि भएको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

निर्वाचन नजिकिँदै गर्दा प्रचारप्रसारका क्रममा रुकुम, रोल्पा, भोजपुर, म्यादी, संखुवासभा, गोरखा लगायत जिल्लामा उम्मेदवार तथा प्रचारप्रसारका क्रममा रहेका कार्यकर्तामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले सुरक्षा व्यवस्था मिलाउन भनेको छ ।

आयोगका सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा लोतकतान्त्रिक प्रक्रिया विरुद्ध अवरोध गर्नेलाई कानुनी कारबाहीको भागीदार बनाउन आग्रह गरिएको छ ।

आयोगले अनुगमनका क्रममा कम्युनिस्ट पार्टीको घरमा कालो झन्डा राख्ने, सम्पत्ति कब्जा गर्ने, मतदातालाई मतदान नर्गन धम्की दिने र निर्वाचन प्रचारप्रसारमा अवरोध गर्ने कार्य भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

स्वच्छ, स्वतन्त्र र आवधिक निर्वाचन लोकतन्त्र र मानव अधिकारको पर्याय भएकाले त्यसलाई अवरोध गर्ने तत्वप्रति राज्य चनाखो हुनुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा भाग लिन पाउने र आफूलाई इच्छा लागेको व्यक्तिलाई मतदान गर्न पाउने अधिकारको अवरोध नर्गन आयोगले सबै पक्षलाई आग्रह गरेको छ ।