पूर्व उपप्रधानमन्त्री एवम् काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभातर्फका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले मुुलुकलाई आर्थिक समृद्धिमा लैजाने कामको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्न सक्ने दाबी गरेका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले मंगलबार साँझ नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा आयोजना गरेको व्यवसायिक तथा बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन् ।
०४६ सालमा लोकतन्त्रको पुनर्बहाली भएपछि आएको नेपाली कांग्रेसको बहुमतको सरकारले अबलम्बन गरेका आर्थिक उदारिकरणका कारण नेपालको औद्योगिक, व्यापारिक, जलविद्युत, सडक, शिक्षा, स्वास्थ्य हवाई यातायात, सञ्चार र पर्यटन लगायतको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए ।
उनले एमालेका सडक आन्दोलन र माओवादीका हिंसात्मक आन्दोलनका अवरोध नआएको भए नेपाली कांग्रेसले नेपालको विकास निकै माथिल्लो स्तरमा पुर्याइसकेको हुने दाबी समेत गरे । उनले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले चुनेका प्रतिनिधिहरुले बनाएको संविधानले नेपालको राजनीतिक व्यवस्थाको टुंगो लगाइसकेको हुनाले अब आर्थिक विकासमा केन्द्रित हुन पार्टीलाई सहज हुने उल्लेख गरे ।
कांग्रेस नेता सिंहले जनताको आर्थिक विकासको एजेण्डा नभएका दलहरु जनताका प्रतिनिधिले बनाएको संविधानको मर्म विपरीत कम्युनिष्ट शासन स्थापना गर्ने सपना देखेको आरोप पनि लगाए । नेता सिंहले मुलुकमा बढ्दै गएको भ्रष्टाचार जस्ता विकृति र विसंगति साना र नयाँ दलका प्रतिनिधिहरुले हटाउन नसक्ने जिकीर गर्दै भने, ‘राजनीतिक परिवर्तन मात्रै होइन, नीतिगत परिवर्तन पनि साना र नयाँ पार्टीबाट सम्भव छैन। नारायणमान विजुक्छेजी २०४८ सालदेखि निरन्तर संसदमा प्रतिनिधित्व गरिरहनुभएको छ, चित्रबहादुर केसी पनि दुईपटक आइसक्नुभयो, उहाँहरुले कुनै सुधार गर्न सक्नुभएको छैन । सुधारको कुरालाई पार लगाउन पनि ठूलै पार्टी चाहिन्छ ।’
कार्यक्रममा क्षेत्र नं १ को प्रदेशसभा (क)का नेपाली कांग्रेसका उम्मेवार दीपेन्द्र श्रेष्ठ र (ख)का उम्मेद्वार सुरज लामिछानेले नेपाली कांग्रेसले युवालाई समेत जिम्मेवारी दिएको उल्लेख गर्दै लोकतन्त्रको संरक्षण, पूर्वाधार विकास,आर्थिक समृद्धिको लागि नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे ।
कार्यक्रममा प्राध्यापक गुणनिधि न्यौपानेले लामो समय बामपन्थी रहनु भएका प्रा. चैतन्य मिश्रले एक लेखमार्फत ‘साह्रै नै माओवादी भइएछ,सोभियतवादी भइएछ,माक्र्सबाद पढिएछ र गाँजा खाइएछ’ भनेर पश्चातापपूर्ण अभिव्यक्ति दिएकोले कम्युनिष्टहरुको नाराको पछाडि नलाग्न बुद्धिजीवीहरुसंग आग्रह गरे ।
यस्तै, नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष केशवानन्द गिरीले सिंह जत्तिको इतिहास भएको, राजनीतिमा खारिएको,अनुभवी र योग्य उम्मेद्वार पाउनु काठमाडौं क्षेत्र नं १ को सौभाग्य हो भन्दै उहाँलाई विजयी गराउन आग्रह गरे ।
कार्यक्रममा प्रजातन्त्रवादी कानून व्यवसायी संघका अध्यक्ष भरत खरेल, प्रशासन तथा व्यवस्थापन केन्द्रका अध्यक्ष डिल्लीप्रसाद शिवाकोटी, नेपाल सांस्कृतिक संघका महासचिव शिवशंकर रिजाल,नेपाल इञ्जिनियर्स एशोशियसनका अध्यक्ष हरेराम श्रेष्ठ, नेपाल चिकित्सक संघका अध्यक्ष डा।मुक्ति श्रेष्ठ र नेपाल प्राध्यापक संघका खुमा शर्माले पनि यो निर्वाचन लोकतन्त्रवादी र कम्युनिष्टहरुको बीचको जनमतसंग्रहको रुपमा आएकोले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजयी बनाउन आग्रह गरेका थिए ।
प्रतिक्रिया