उपेन्द्रलाई कानुन व्यवसायीको प्रश्न– रामराजालाई राष्ट्रपतिमा किन हराएको ?

उपेन्द्रलाई कानुन व्यवसायीको प्रश्न– रामराजालाई राष्ट्रपतिमा किन हराएको ?


– हेमशंकर सिंह

राजविराज । निर्वाचन प्रचारप्रसारको क्रममा सप्तरीमा रहेका उपेन्द्र यादवलाई बुधवार राजविराजमा कानुन व्यवसायीहरूले पहिलो राष्ट्रपतिको निर्वाचनमा रामराजाप्रसाद सिंहलाई चुनाव किन हराएको भनी प्रश्न सोधेपछि यादव नाजवाफ भए । प्रचारप्रसार अगाडि बढाउने क्रममा बुधबार सप्तरीका कानुन व्यवसायीहरूसँग यादवले राखेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले उक्त प्रश्न गरेर यादवलाई ¥याख¥याख्ती पारेका हुन् ।

‘प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको निर्वाचनमा किन हराएको भन्दै एक सहभागीले भने, मत त तपाईंलाई नै दिन्छु, यो हाम्रो इज्जतको सवाल हो तर जसले पनि तपाईसँग यो प्रश्न त गर्छ–गर्छ– ‘रामराजालाई राष्ट्रपतिमा किन हराएको ?’

गणतन्त्रवादी नेता सिंहको जन्मस्थान कोइलाडीकै क्षेत्रबाट यादव प्रतिनिधिसभा सदस्यका रुपमा उम्मेदवार भएका छन् ।

सप्तरीबाट चुनाव लड्न त आउनुभयो तर गजेन्द्रनारायण सिंह र रामराजाप्रसाद सिंहको इतिहास र योगदानलाई तपाईं जोगाएर राख्न सक्नुहुन्छ कि हुन्न भनी प्रश्न तेस्र्याउँदै अधिवक्ता रामकुमार यादवले समानुपातिक सूचीमा सहिद परिवारलाई कति स्थान दिएको तथा घाइते र सहिद परिवारका लागि चुनावी घोषणापत्रमा के योजना ल्याएको भनी जिज्ञासा समेत राखे । मधेसको मुद्दालाई राजनीतिक स्वरुप दिने गजेन्द्रनारायण सिंह पनि कोइलाडीकै हुन् ।

मोरंग हुँदै सुनसरी छाडेर सप्तरी किन आउनु प¥यो ?– अर्का एक सहभागीको जिज्ञासा थियो । त्यस्तै एक सहभागीले व्यंग्य गर्दै भने– जलाएको संविधान स्विकार किन गरेको र प्रतिपक्षीहरूसँग मिलेर चुनावमा किन भाग लिएको ?

मनोनयन भन्दा एक दिन अगाडिदेखि नै आफ्नो चुनावी अभियान सुरु गरेका यादवमाथि कानुन व्यवसायीहरूबाट यस्ता प्रश्न तेर्सिंदा यादव निरुत्तर भई फगत मुस्कुराइरहे ।

कानुन व्यवसायीहरूले उठाएको जिज्ञासाबारे यादवले प्रतिप्रश्न गरे– तपाईंहरू सप्तरीबाट चुनाव किन लडेको मात्र सोध्नुहुन्छ तर सप्तरीबाट किन गएँ त्यो किन सोध्नुहुन्न ?

प्रदेश नम्बर १ नेपालको सबैभन्दा समृद्ध प्रदेश रहेको तर सप्तरी र प्रदेश नम्बर २ विकासमा पछाडि परेकाले यस क्षेत्रको विकासका लागि सप्तरीका साथीहरूले तानेर ल्याएको जिकिर गरे ।

देशमा पटक–पटकको आन्दोलनले परिवर्तन ल्याउन सफल भएपनि ती परिवर्तनहरुलाई व्यवस्थित गर्न राज्य र राजनीतिक दल सधै विफल भएको उनले बताए । नेपालमा कम्युनिष्ट पार्टी रहेपनि कम्युनिष्ट नरहेको भन्दै यादवले भने कम्युनिष्ट भएको भए माधवकुमार नेपालले राजालाई दाम चढाएर किन दासत्व स्विकार गर्थे ?

बाह्रबुंदे दिल्ली सम्झौतामा गणतन्त्र र संघीयता नरहेको दाबी गर्दै यादवले मधेस आन्दोलनकै कारण गणतन्त्र, संघीययता र समावेशी लोकतन्त्र आएपनि संघीयता काँग्रेसजस्ता पार्टीका लागि टाउको दुखाई भएको बताए ।

संवैधानिक पुनरावलोकन समिति बनाएर संविधानको पुनरावलोकन गर्न आफूहरुले दिएको सुझाव ठूला तीन दलले नमानेपछि संविधान संशोधनको पाटो अगाडि बढे पनि त्यसले पूर्णता पाउन नसकेको र सोका लागि संसदमा मधेसको प्रतिनिधित्व आवश्यक रहेकोमा उनले जोड दिए । वर्तमान संविधानलाई रणनीतिक रुपमा प्रयोग गर्दै संसद र सडकबाट संशेधन र परिमार्जनका लागि दवाव सृजना गरिने र यतिले पनि सम्भव नभए संविधान विस्थापनकै दिशामा अगाडि बढने जानकारी समेत उनले गराए ।

यसैगरी बुधबार नै राजविराज ६ स्थित वागेश्वरी मनिदरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले बन्दुकको नोकमा नरसंहार गरेर जारी संविधान लोकतान्त्रिक हुन नसक्ने बताए । उनले अगाडि भने यो जनताको संविधान होइन, यो संविधानले देश बन्दैन, राजनैतिक गति अगाडि बढन सक्दैन र एकदिन देश दुर्घटनामा पर्नेछ ।

राजपा महासचिव एवं प्रदेश सभाका उम्मेदवार मनिषकुमार सुमनले विकासको नाममा भ्रष्टाचार गर्नेलाई मत नदिन आग्रह गरे । बाम गठबन्धनका उम्मेदवार रहेका माओवादी पोलिटव्युरो सदस्य उमेश यादवतर्फ संकेत गर्दै सुमनले भने उपेन्द्र यादवको अगाडि उनको कुनै स्तर छैन् । जनतालाई ढोगेर मत माग्दैमा उपेन्द्र यादवलाई हराउन नसक्ने ठोकुवा गर्दै सुमनले भने उमेश आए तपाईहरु सोध्नुस यतिका दिन तिमी कहाँ थियौ ।

मधेसको बैश्य (देव) जातीको कुलदेवता वागेश्वरी मन्दिर परिसरमा आयोजित चुनावी सभापश्चात सहभागीहरुलाई खाजा खुवाइएको थियो । उपेन्द्र यादव सहभागी हुने अधिकांश सभापछि कार्यक्रमस्थलमा नै खाजा र खानाको प्रबन्ध गर्ने गरिएको छ ।