शरणार्थीको तेस्रो मुलुक पुनर्वास प्रक्रिया बन्द

शरणार्थीको तेस्रो मुलुक पुनर्वास प्रक्रिया बन्द


झापाको दमकस्थित शरणार्थीसम्बन्धी संयुुक्त राष्ट्रसंघीय उच्च आयोग दमक शाखामा बुधबार शरणार्थी र दातृ निकायबीचको छलफल सम्पन्न भएको छ । छलफलका क्रममा उच्च आयोगका अधिकारीले पुनर्वास प्रक्रिया बन्द भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रक्रिया बन्द गरिएको जानकारी दिएका छन्।

भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीका शिविर व्यवस्थापन समितिका सचिव, सहायक सचिव, पूर्वसचिव र अन्य जिम्मेवार पदका पदाधिकारी, उच्च निकाय युएनएचसीआर र पुनर्वाससम्बन्धी अमेरिकी सरकार प्रतिनिधिबीच सो छलफल भएको थियो । छलफलमा सहभागी बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीका अनुसार तेस्रो मुलुक स्थानान्तरण रोकिएपछि अब के हुन्छ भन्ने प्रश्नमा स्वदेश फिर्ती हालसम्म सम्भव नदेखिएको र स्थानीयकरणमा जोड दिइएको थियो ।

त्यसक्रममा स्वदेश फिर्तीबारे पहल भइरहे पनि तत्काल हुन सम्भव नदेखिएको युएनएनएचसीआरका एक अधिकारीले बताए। बाँकी रहेका भुटानी शरणार्थीका विषयमा युएनएनएचसीआरले नेपाल सरकारसँग स्थानीयकरणका विषयमा समेत छलफल भएको पथरी शिविरका सचिव चम्पासिंह राईले जानकारी दिए ।

पुनर्वासका लागि नयाँ फारम भर्न बन्द गरिए पनि पारिवारिक पुनर्मिलनका लागि अमेरिकी सरकारले परिवारको सदस्यमार्फत गरिने राहदानीबाट आफ्ना सदस्य भने लानसक्ने बताइएको शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज साङपाङले बताए । पछिल्लो समय भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीमा गरी करिब नौ हजारको संख्यामा भुटानी शरणार्थी रहेको युएनएचसीआरले जानकारी दिएको राससले जनाएको छ ।