चितवनमा भेला भए अन्तर्राष्ट्रिय भैंसीविज्ञहरु

चितवनमा भेला भए अन्तर्राष्ट्रिय भैंसीविज्ञहरु


चितवनको सौराहामा भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. आइपी ढकालले हिजो बुधबार उक्त सम्मेलनको उद्घाटन गरेका हुन् । विश्वविद्यालयको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा शुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका २०० जना भैँसीविज्ञ, वैज्ञानिक, प्राज्ञ तथा विद्यार्थीको सहभागिता छ ।

‘भैँसीको उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ नेपालमा नै पहिलो पटक चितवनमा शुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने बताइएको छ । सम्मेलनमा भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरिका, क्यानाडा र बेलायतका ५५ जना विदेशी विज्ञ सहभागी छन् । भैँसीको आनुवांशिक गुण वृद्धि गरी उत्पादन बढाउने र पोषण, स्वास्थ्य तथा भैँसीको व्यवस्थापनका विषयमा सम्मेलन केन्द्रित हुने जनाइएको छ ।

‘इन्टरनेशलन बफेलो फेडरेशन’का अध्यक्ष प्राध्यापक डा. एन्तोनियो बर्गिज, पाकिस्तानको भेटरिनरी विश्वविद्यालयका प्राध्यापक तथा उपकुलपति नासिम अहमद, एसिएन बफेलो एसोसिएसनका अध्यक्ष इन्द्रजित सिंह, अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका प्राध्यापक नन्दप्रकाश जोशी, पशुसेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मललगायतको सहभागिता रहेको सम्मेलन उद्घाटनका क्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवनका डिन शारदा थपलियाले नेपालमा भैँसी उत्पादन, विकास र प्रजननमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

यस्तै, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले विश्वविद्यालयले विज्ञहरु उपलब्ध गराएर योजना बनाए भैँसीको उत्पादन बढाउन नगरपालिकाले आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

सम्मेलनमा भैंसीको बाली लाग्ने समय परिवर्तन र विकासका विषयमा समेत विज्ञहरुबीच छलफल हुने बताइएको छ । चितवनको रामपुरलाई पशुको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजना रहेकाले सो विषयमा समेत छलफल हुने र सम्मेलनमा ९० वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिएका छन् ।