निर्वाचन आयोगले सात प्रदेशमा आयुक्त खटायो

निर्वाचन आयोगले सात प्रदेशमा आयुक्त खटायो


चुनावका निम्ति निर्वाचन आयोगले सात प्रदेशमा आयुक्त खटाएको छ ।  निर्वाचन आयोगले आगामी १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सबै आयुक्तलाई जिम्मेवारीसहित प्रदेशमा खटाएको हो ।

एकै ठाउँ बसेर निर्वाचनका गतिविधि चुस्त राख्न सम्भव नहुने ठहर गर्दै आयोगले आयुक्तहरूलाई प्रदेशको जिम्मेवारीसहित समग्र निर्वाचन प्रक्रिया अनुगमन र निरीक्षणका लागि जिम्मेवारी तोकेको बुझिन्छ ।

प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव भने आवश्यकताअनुसार उपत्यकाबाहिर जानेछन् । आयोग प्रवक्ता नवराज ढकालका अनुसार आयोगले प्रदेश १ को जिम्मेवारी आयुक्त नरेन्द्र दाहाललाई दिएको छ ।

त्यस्तै, प्रदेश २ र ३ को जिम्मेवारी अर्का आयुक्त इला शर्मा र ४ र ५ प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौडेललाई तोकिएको छ । अर्का आयुक्त सुधिरकुमार शाहलाई आयोगले प्रदेश ६ र ७ को जिम्मेवारी दिएको छ ।

ढकालका अनुसार आयुक्तले प्रदेश रहँदा त्यहाँको समग्र निर्वाचन प्रक्रियाको वस्तुगत अवस्था, मतदान सामग्री व्यवस्थापन, सुरक्षा निकायसँगको छलफल, निर्वाचनलक्षित कार्यक्रमसहित ‘मोनिटरिङ’को जिम्मेवारीसमेत गर्नेछन् ।

यद्यपि, आयोगमा हुने विशेष बैठक र अति आवश्यक निर्णयका बखत भने कम्तीमा तीन आयुक्त काठमाडौं आउनेछन् । आयोगले महत्वपूर्ण निर्णय गर्नुपर्दा कम्तीमा तीन आयुक्तको हस्ताक्षर अनिवार्य छ । आयोगमा प्रमुख यादव र अन्य चार गरी पाँच आयुक्त छन् ।

आयोगले पहिलो चरण्मा १० र दोस्रो चरणमा २१ मंसिरका लागि निर्वाचन मिति तय गरेको छ भने निर्वाचनका लागि ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय सञ्चालनमा ल्याई निर्वाचन गतिविधिलाई तीव्र रूपमा अघि बढाएको छ ।

त्यस्तै, आयोगले केही दिनअघिबाट मात्रै मतदातालक्षित मतदाता शिक्षा कार्यकर्तासमेत परिचालन गरिसकेको छ । आगामी निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदाताले निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनेछन् ।