ओबामामाथि उठेका प्रश्न—शशी पौडेल

ओबामामाथि उठेका प्रश्न—शशी पौडेल


अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी नोभेम्बरमा हुन गइरहेको निर्बाचनका लागि पनि उम्मेबारी घोषणा गरेका छन् । बिगतको निर्वाचन प्रचारप्रसार क्रममा उनले आºनै पार्टी भित्रकी प्रतिद्वन्दी हिलारी ल्किन्टनलाई पराजित गर्न ‘परिवर्तन’, अनि ‘परिवर्तनको’ मूल मन्त्र जपेका थिए । त्यसैगरी राष्ट्रपति पदको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी जोन म्याक्यानलाई ‘परिवर्तन’ कै मूलमन्ंत्रको आधारमा पराजित गरे । उनको विजयपश्चात संसारभर छरिएर बसेका अश्वेत जाती र अफिर्कामा समेत ठूलो पर्व मनाइयो । केनियालीहरुले त आगामी दिनमा आफूहरुले काम नै गर्नु नपर्ने जस्तो सोचेका थिए । बाराक ओबाामालाई त्यतिखेर ठूलो चुनौति आएजस्तो र उनले तीन अलगअलग समूहहरुको इच्छा र आकांक्षाअनुसार चित्त बुझाइदिनु पर्ने देखिन्थ्यो ।

प्रथम: संसारका गरीब मुलुकहरुमध्ये गनिने मुलुक केनिया र त्यहाँका जनताहरुको

वेलाईतमा केनियाली जनताको ठूलै समुदाय छ । उनीहरु बृटिश आर्मीमा पनि छन् । केनियाको एउटा सँगठनका नेताहरुमध्य एकजनाले मसँग काम गर्छ । २००८ को निर्बाचनमा बाराक ओबामा निर्बाचित भएपछि उसले ओबामाको ठूलै फोटो आफ्नो छातीमा टाँसेर डयुटीमा आइपुग्यो । मैले उसँग प्रश्न गरे, यो के हो ? उसको जवाफ थियो । तपाई लेखक, पत्रकारले बाराक ओबामालाई चिन्नुहुन्न ? उसले ओबामाको तस्वीर भएको ब्याच आफ्नो छातीबाट झिकेर मेरो हातमा दिँदै अगाडि भन्यो —अब संसारको सबभन्दा ठूलो मान्छे । हामी केनियालीहरुको भाग्य विधाता । भविष्यमा हाम्रो केनिया यति धनी हुनेछ कि संसारका अन्य कुनै मुलुकले छुन सक्ने छैनन् । अब हामी केनियाली जनता वेलाईतमा काम गरिरहनु पर्ने छैन । बृटिस आर्मीमा भर्ती भइरहनु पर्ने छैन । बेलाईतीहरुबाट शोषित पीडित भइरहनु पर्ने छैन । हामी सम्पन्न केनियाका जनता हने छौं र आलिशानमा बस्ने छौं ।

दोस्रो: इन्डोनेसियाका जनता । उनीहरुले भनिरहेका थिए – बाराक ओबामा इन्डोनिसियामा हुर्के बढे र पढे लेखेका हुन् । उनको सबभन्दा पहिलो प्राथमिकता इन्डोनेसियाको गरिवी हटाउन, यहाँको विकास गर्न र इन्डोनेसियालाई सम्पन्न गराउनेतर्फ दिने छन् ।

तेस्रोः अमेरिकी जनता । अमेरिकी जनताले ओबामाको मूल मन्त्र ‘परिवर्तन’ लाई भोट दिएका हुन् र उनीहरुले, अमेरिकाको आमूल परिवर्तनको अपेक्षा राखेका थिए । ओबामाको पहिलो कर्तव्य आफ्नो मुलुक र त्यहाँका जनताप्रति थियो । चाहे ओबामा काला हुन् वा मिश्रित वंशका ।

अमेरिकी प्रगतिशील जनसमुदायहरुले पनि बाराक ओबामाको विजयलाई ‘एक प्रकारको प्रगतिशील कदम हो र रिपब्लिकनहरुको अध्यारो राज्य व्यवस्था र विगत आठ वर्ष देखिको युद्धको भूमरीबाट मुक्त पाइने छ’ भन्ने जस्ता टिप्पणी गरेका थिए । तर नत केनियाली जनता धनी बने, नत इन्डोनेशियाली जनता सम्पन्न । नत अमेरिकी जनता, उनीहरुले सोचेजस्तो अँध्यारो राज्य व्यवस्थाको युद्धको भूमरीबाट मुक्त भए ।

अब यदि अमेरिकी प्रगतिशील जनसमुदायहरुको राजनैतिक बिष्लेषणको कुरा गर्ने हो भने अमेरीकी इतिहासलाई दोहर्‍याएर हेर्नु पर्छ । अहिलेसम्मको इतिहासले सरकारमा चाहे प्रजातन्त्रवादी हुन् वा रिपब्लिकन, दुवैले सत्ताको दुरुपयोग गर्दै विश्वका न्यायप्रेमी जनताविरुद्ध जाइलाग्दै आइरहेका छन् ।

प्रिय पाठक बृन्द !
म तपाइहरुलाई केही उदाहरणतर्फ ध्यानाक्रर्षण गराउन चाहन्छु ।

१९४८/४९ ताका अमेरिकामा डेमोक्रेटिक पार्टीका राष्ट्रपति हयारी एस् ट्रयुम्यान थिए । उनले जापानका निरिह जनतामाथि आक्रमण गरे । सो आक्रमणबाट हिरोसिमा र नागासाकीमा ठूलो संख्यामा नरसहार भयो । उनले कोरियाको अन्त्य गर्ने धम्की दिए र १९५० देखि १९५३ सम्ममा तीस लाखभन्दा बढी ज्यु–ज्यान नष्ट गरे ।

जोन एफ केनेडी पनि डेमोक्रेटिक पार्टीकै थिए । उनले १९६३ मा भियतनाममा पहिलो सैनिक आक्रमण गरे । उनले क्युवालाई नष्ट गर्न जाइ लागे । अहिलेसम्म पनि अमेरिकामा जोसुकै राष्ट्रपति बने पनि क्युवाविरुद्ध राजनीतिक र आर्थिक नाकाबन्दी लगाउँदै र सैनिक आक्रमणको योजना बनाउँदै आइरहेका छन् ।

अहिलेसम्म पनि संसारभरि आफ्नो ‘मित्रताको पाहुर’ लिँदै हिँड्न चाहने पूर्व राष्ट्रपति जिमी कार्टरले पोलपोटको अन्त्य गर्ने धम्की दिएका थिए । ती उनै व्यक्ति हुन् जसले करोडौंको संख्यामा न्युटन बमको निर्माण गराएका थिए । उनले नै इष्ट टिमोर र इन्डोनेसियाको एकतालाई भंग गराएका थिए । त्यतिबेला अमेरिकी आक्रमणबाट इष्ट टिमोरमा दशौं लाखको संख्यामा नरसंहार गराइएको थियो । उनी पनि डेमोक्रेटिक पार्टीका हुन् भन्ने कुरा छिपेका छैन ।

आफूलाई ‘हयाण्डसम, स्टार अफ द वर्ल्ड ’ ठान्ने अमेरिकी राष्ट्रपतिको कुरा गरौं । ती को होलान् जसले आफ्नो न्यानो हृदय र खुशीका आँखाले आफ्ना जनतालाई भेटने र हेर्ने गर्थे । तर उनले नै ल्याएको ‘वेलफेयर टु वर्क’ नामक योजनाको कारणबाट गरीब हुँदै गइरहेका मध्यम वर्गीय जनतालाई झन् गरीबीतिर धकेले भने एकल आमाहरु आफ्ना बालबच्चाहरुलाई घरमा एक्लै छोडेर काममा जान बाध्य बनाइए । यी थिए राष्ट्रपति विल क्लिन्टन । विल क्लिन्टनको यो योजना यदि रोनाल्ड रेगनले पनि उपभोग गर्न पाएको भए खुशीले गदगद हुँदै विल क्लिन्टनलाई आफ्नो गुरुको संज्ञा दिई विल क्लिन्टनको निम्ति रिपब्लिकन पार्टीको ढोका खोलिदिने थिए होलान् ।

१९९६ मा ‘हेल्मस बुट्रोने एक्ट’ नामक काननू बनाएर क्युवालाई अमेरिकासँग कुनै पनि कारोवार गर्न प्रतिबन्ध लगाउने पनि पूर्व स्टार राष्ट्रपति विल ल्किन्टन नै हुन् । उनले नै इराकमाथि धम्की दिन संयुक्त राष्ट्रसंघलाई दबाब दिएका थिए । ओबामाको परराष्ट्रमन्त्री यिनै विल ल्किन्टनकी धर्मपत्नी हिलारी ल्किन्टन बनिन् ।

अमेरिकाभित्र अहिलेसम्म जति आन्दोलनहरु भए अमेरिकी राजनीतिक स्वतन्त्रताका निम्ति भए । अमेरिकी परराष्ट्र नितिका विरुद्ध भए । साम्राज्यवादी नितिका विरुद्ध भए । अमेरिकामा कम आन्दोलनहरु भएका छैनन् । तर दुर्भाग्य सबै आन्दोलनहरु पुजिँवादको स्वार्थको पोल्टाभित्र पसें । साम्राज्यवादी शक्तिले आन्दोलनहरुलाई हातमा लियो । ब्रिटिस र युरोपेली उपनिवेशको अन्त सँगसँगै अमेरिकी साम्राज्यवादको मोनोपोली विश्वभर फैलियो । विश्वको कुनै न कुनै ठाउँमा अमेरिकी आक्रमणका कारण रगत नबगेको कुनै बर्ष छैन । दोस्रो विश्वयुद्धको अन्त भएर बारुदको गन्ध नमेटिँदै जापानको हिरोसिमा र नागासाकीमा नरसंहार गर्‍यो । हिरोसिमा र नागासाकीका जनताको मृत शरीर सेलाउन नपाउँदै कोरियामा तीसौं लाख मान्छे मारिए । कोरियाली जनताको रगतको खोलो सुक्न पाएको थिएन १९६३ मा भियतनाममा अमेरिकी सैनिक आक्रमणबाट रगतको होली खेलियो । ७० को दशकमा इष्ट टिमोरमा दशौं लाख मारिए । रगतको होलीको इतिहासलाई हेर्दा दोस्रो विश्वयुद्धदेखि १९९० को दशकसम्ममा शीतयुद्ध नाइके अमेरिकाले आधा करोडभन्दा बढीको हत्या गर्‍यो । त्यसपछि अहिलेसम्म बाइस वर्षको अबधिमा इराक, अफगानिस्तान आदिमा भएका हत्या र आतकंको साक्षी हामी आफै छौं । विश्वबाट समाजवादको अन्त्य गर्ने ठेकेदारको रुपमा समाजवादी मलुकुहरुविरुद्ध सगठनात्मक ढगले नेटो जाइलाग्यो । शान्ति स्थापनाको नाममा हरेक वर्ष इजरायललाई दुई सय मिलियन बराबरको हातहतियार उपलब्ध गराउँदै आइरहेको छ ।

राष्टपति भवनमा प्रबेश गर्नुअघि उनको भाषणले विश्वका न्यायप्रेमी जनतालाई निरुत्साहित पारिसकेका थिए । उनले एउटा भाषणमा भनेका थिए , ‘मेरो जीवनभरिको राजनीतिक अनुभवमा क्युवामा कानूनी राज्य छैन र त्यहाँका जनताले तीन पुस्तादेखि प्रजातन्त्रको परिभाषा सुनेका छैनन् । त्यसैले अब क्युवालाई अमेरिकी प्रजातन्त्र र अर्थतन्त्र दिलाएर फिडेल कास्त्रोको राजनीतिक बन्धनबाट मुक्त गराउनु पर्छ ।’

साँपको छोरा साँप नै हुन्छ भने झैं ओबामा साम्राज्यबादी शक्तिराष्ट्र संयुक्तराज्य अमेरिकाका राष्टपति हुन्, र उनले आफ्नो साम्राज्यवादी वर्ग चरित्र नदेखाएर के गरुन् बिचरा । आखिर केनियाली, इन्डोनेशियाली र अमेरिकी प्रगतिशील जनताको आशा हात्ती आयो हात्ती आयो फुस्सा भए पनि बाराक ओबामा पुन राष्ट्रपति चुनिने छन् ।

(लेखक स्वतन्त्र विचारक हुन् । उनलाई उनको आफ्नो ब्लग The-Global मा अझ ज्यादा विस्तृतरुपमा पढ्न सक्नुहुनेछ भने उनलाई यस [email protected] इमेलमार्फत सम्पर्क राख्न पनि सक्नुहुनेछ ।-प्रधानसम्पादक)