‘बुढी गण्डकीको ठेक्का रद्द, राष्ट्रिय गौरवको आयोजना बनाउन कांग्रेस प्रतिबद्ध’

‘बुढी गण्डकीको ठेक्का रद्द, राष्ट्रिय गौरवको आयोजना बनाउन कांग्रेस प्रतिबद्ध’


यतिबेला बुढी गण्डकी जलविदुत आयोजना खारेज गरिएको भन्दै कांग्रेस नेतृत्वको सरकार र खासगरी नेपाली कांग्रेस पार्टीमाथि विपक्षी प्रहार तीव्र पारिएको छ । चुनावको संघारमा गरिएको यस प्रहारको प्रतिरोध गर्ने प्रयत्न कांग्रेस नेताहरुले गरेका छन् ।

यस क्रममा कांग्रेस नेता बालकृष्ण खाँडले बुढी गण्डकीको ठेक्का मात्र रद्द भएको तर परियोजना रद्द नभई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण हुने तर्क गर्दै पार्टीका तर्फबाट प्रतिरक्षाको प्रयास गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजक खाँडले बुढी गण्डकी आयोजनाको ठेक्का मात्र रद्द गरिएको आयोजना यथावत रहेको तथ्यलाई तोडमरोड गरेर ामपन्थी गठबन्धनले जनतामा भ्रम छरेको आरोप लगाए ।

नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समिति अन्तर्गतको केन्द्रीय मिडिया सेन्टरद्धारा आयोजित विशेष पत्रकार भेटघाट कार्यक्रममा संयोजक खाँडले पूववर्ति प्रचण्ड नेतृत्वको सरकारको पालामा प्रधानमन्त्रीले राजिनामा दिइसकेपछि सोही पार्टीका विभागीय ऊर्जामन्त्रीमार्फत ठाडो प्रस्ताव ल्याएर हतारमा गरिएको सो निर्णयका बारेमा संसदको कृषि तथा जलस्रोत समिति र अर्थ समितिको संयुक्त बैठकले समझदारी खारेज गर्ने निर्देशन दिएकोले वर्तमान सरकारले त्यसको पालना गरेको दाबी गरे ।

संसदीय समितिको निर्देशनपछि सरकारले यससम्बन्धी आवश्यक अध्ययन, छलफल र कागजातको छानवीन समेत गरेर सो निर्णय लिएको उल्लेख गर्दै उनले भने, ‘अर्बौको प्रोजेक्ट प्रक्रिया मिचेर दिइएको रहेछ, प्रतिस्पर्धा गर्दा लागत कम हुन सक्ने अवस्था पनि आउँछ ।’ सरकारले निर्णय गर्ने वित्तिकै विपक्षी गठबन्धनका नेताहरुले हतारहतार पत्रकार सम्मेलन गर्नुले पनि यसमा अवाञ्छनीय खेल भएको आशंकालाई पुष्टि गरेको उनले बताए ।

नेता खाँडले नेपाली कांग्रेस समृद्धिको अभियानमा लागेको र जलस्रोत लगायत अन्य पूर्वाधार विकास गर्दा जग्गा अधिकरण र मुआब्जा वितरणमा पीडितहरुको मागलाई ध्यान दिन आग्रह गरेको पनि जानकारी दिए। उनले आयोजना शुरु भएपछि वरपरका जग्गाको भाउ बढ्ने र सरकारले तोकिदिएको मुआब्जाले त्यसै अगलबगलका आधा जमीन पनि नआउने अवस्था धेरै ठाउँमा देखिएको प्रस्ट्याए ।

कांग्रेसको अवस्था सुदृढ भएको दाबी

कांग्रेस केन्द्रीय सदस्य खाँडले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताए । उनले राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सामाजिक न्यायको एजेण्डा एकसाथ बोकेर हिँड्ने नेपाली कांग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने पनि बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको सान्दर्भिकताका बारेमा दिएको तुच्छवाणिप्रति अपशोच व्यक्त गर्दै लोकतन्त्रमा विश्वास गर्ने, आर्थिक उदारवाद र न्यायपूर्ण समतामूलक समाज निर्माणको लक्ष्य लिएको पार्टीको सान्दभिकता सधै रहिरहने दावी गर्दै भने, ‘कांग्रेसका सिद्धान्त कालजेयी छन् ।’

विगतमा एमालेबाट संविधानसभामा प्रतिनिधित्व गरिसकेका प्रसिद्ध उद्योगी विनोद चौधरी पार्टी र कार्यकर्तामुखी आर्थिक नीतिले मुलुककोे आर्थिक विकास नहुने निष्कर्षमा पुगेर नेपाली कांग्रेस प्रवेशगरेको सन्दर्भलाई पनि अर्थपूर्ण रुपबाट हेर्न आग्रह गर्दै उनले भने, ‘हाम्रो अवस्था दिनदिनै अझ मजबूत बन्दै गएको छ ।’