वागी जोशी एमालेबाट निष्काशित, रावलले लगाए आरोप

वागी जोशी एमालेबाट निष्काशित, रावलले लगाए आरोप


पार्टीको नीतिविपरीत वागी उम्मेदवारी दिने राजेन्द्रप्रसाद जोशीलाई नेकपा (एमाले) कञ्चनपुरले पार्टीबाट निष्काशन गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ ख प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकाले पार्टीको सम्पूर्ण जिम्मेवारी बर्खास्त गर्दै पार्टीबाट निष्काशन गरिएको एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङले बताइन् ।

पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य जोशीलाई पार्टी विधानको धारा ४९ (क) को ८ बमोजिम निष्काशन गरिएको उनको भनाई छ । पटक पटक उम्मेदवारी फिर्ता लिन आह्वान गर्दासमेत नमानेपछि जोशीलाई पार्टीबाटै निष्काशन गरिएको बताइएको छ ।

यसैबीच एमाले उपाध्यक्ष भीमबहादुर रावलले अहिलेको सरकारले विभिन्न बहानामा पार्टी कार्यकर्तालाई लाखौँ रकम बाँडी आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका छन् । अछामको रामारोशन गाउँपालिका वडा नं २ चाफामाण्डौमा वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै रावलले निर्वाचनलाई असर पर्ने विभिन्न गतिविधि भइरहे पनि सरकार मौन रहेको र वाम गठबन्धन भएपछि अत्तालिएर नेपाली कांग्रेसले गठबन्धनविरुद्ध विभिन्न षड्यन्त्र गरिरहेको दोषारोपण गरे ।