राप्रपाका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश

राप्रपाका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश


प्रदेशसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट उम्मेदवार रहेका रोल्पाका वीरसिंह ठकुरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । वाम गठबन्धनले शुक्रबार रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभामा सिंह राप्रपा प्रजातान्त्रिक परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

राप्रपा प्रजातान्त्रिकको केन्द्रीय सदस्य तथा राप्ती अञ्चल प्रमुखसमेत रहेका सिंहले प्रदेशसभाको उम्मेदवारीसमेत त्यागेर वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेर उनको पार्टीलाई अप्ठेरोमा पारिदिएका छन् ।

पार्टी छोडेर माओवादी प्रवेश गरेका सिंहलाई उपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षमान पुन, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल घर्तीलगायतले अबिर लगाई पार्टी प्रवेश गराएका थिए ।

यसअघि लिवाङमा आयोजना हुन लागेको सोही कार्यक्रममा सहभागी हुन हिँडेका कृष्णबहादुर महरा, वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीलाई लक्षित गरी रोल्पा नगरपालिका–३ भदैरे मन्दिर नजिकैको जंगलमा शुक्रबार बम प्रहार भएको छ । वाम गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु दाङबाट रोल्पाको सदरमुकाम लिवाङमा हुने जाने क्रममा बम प्रहार गरिएको थियो ।

पुनसहितको चुनावको अभियानमा लक्षित गरी आक्रमण गरिएको यो तेस्रोपटक भएपनि बम प्रहारबाट मानवीय क्षति भने भएको छैन । गाडीलाई लक्षित गरी फालेको बम सडकमा विष्फोट भएको थियो भने नपड्किएको अर्को एउटा बम भेटिएको प्रहरी जनाएको छ । सो घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

ज्ञातव्य छ, गत विहीबार पनि सिँचाइ राज्यमन्त्री एवं नेपाली कांग्रेस रोल्पाका प्रतिनिधिसभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी सुतली बम विष्फोट गराइएको थियो ।