रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिप्रसाद नेपालले अहिलेको निर्वाचन लोकतान्त्रिक व्यबस्थालाई अगाडि बढाउने या साम्यवादी व्यबस्था स्थापित गर्ने भन्ने जनमत संग्रह भएको बताउनुभएको छ ।
उहाँले राजनीतिक मुद्धा सकेर अब जारी लोकतान्त्रिक संविधानलाई कार्यान्वयन गर्ने क्रममा एमाले–माओवादीले बाम गठबन्धन गरेर कम्युनिष्ट शासन व्यबस्था ल्याउन खोजेको आरोप लगाउनुभयो ।
मुलुकमा जारी रहेको लोकतान्त्रिक आन्दोलनमा सहभागी भएर संविधान जारी गर्दासम्म सँगै यात्रा गरेकाले एमाले माओवादी लोकतान्त्रिक मुल्य–मान्यतामा आएको भन्ने लागेको बताउँदै एमाले अध्यक्ष केपी ओली र माआवादी अध्यक्ष पुष्पकमल दाहाल अन्ततः ‘म्याउ’ गरेर आफ्नो चरित्र प्रष्ट पारेको बताउनुभयो ।
‘बोरामा बाँधेको बिरालो पनि म्याउ गरेरै छोड्छ’, नेपाली उखान स्मरण गर्दै उहाँले भन्नुभयो–‘देशमा शान्ति र स्थिरता होस भनेर गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्तिको मार्गमा ल्याउनुभयो, प्रचण्डजीको मनमा धङधङी रहेछ, म्याउ गरिहाल्नुभयो ।’
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालको पछिल्लो अभिव्यक्ति यो चुनाव अन्तिम हुने र नेपालमा ६० वर्ष कम्युनिष्ट शासन चल्ने भनाईले पनि बाम गठबन्धन साम्यवादी मार्ग रहेको पुष्टि गरेको उहाँले दाबी गर्नुभयो ।
उहाँले त्यसैकारणले पनि अहिलेको निर्वाचन जारी संविधानको संरक्षण गर्दै लोकतान्त्रिक व्यबस्थालाई अगाडी बढाउने या साम्यवादी व्यवस्था ल्याउने भन्ने जनमत संग्रहजस्तै भएकाले आम नेपालीलालाई सोच्न आग्रह गर्नुभयो ।
सोमबार बुटवलमा रुपन्देहीमा रहेका पाल्पाली मतदातहरुसंगको भेटघाट तथा छलफलका क्रममा उहाँले नेपाली काङ्ग्रेसले चुनाव जितेको खण्डमा बुटवल–पाल्पा सडकलाई फोर लेनको रुपमा विकास गर्ने र सिद्धबाबा क्षेत्रको सडकको दुरावस्था अन्त्यगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेता नेपालले पाल्पामा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने, पाल्पालाई पर्यटकीय हबको रुपमा विकास गर्ने तथा कृषि विकासकालागि सिचाइँको प्रबन्ध गरि व्यबसायिक कृषिलाई प्रवद्र्धन गर्ने र बाँकी अधुरा कामहरू पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निवर्तमान सांसदसमेत रहनुभएका नेता नेपालको पहलमा पाल्पामा एयरपोर्टको विस्तृत सर्भेको काम भइरहेको छ । त्यस्तै सुँगुरेडाँडा, जुठापौवा, साझझण्डी सडक, बतासे, फेक, झिगामारा सडक तथा पहाडी जिल्लाकै सबैभन्दा ठूलो १४ करोडको कचल फाँट सिचाई योजना, तानसेन खानेपानी सञ्चालनमा रहेकाले यीसहित साना ठूला विकासे आयोजनाहरू अगाडि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्यले जारी संविधानको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउने र पाल्पालाई कृषि र पर्यटनका माध्यमबाट विकासको उचाईमा पु¥याउने नेपाली काङ्ग्रेसको लक्ष्य रहेको उहाँको भनाई थियो ।
त्यस्तै प्रदेश सभा क्षेत्र नं. २ (ख) पाल्पाका उम्मेदवार रामबहादुर कार्कीले पाल्पा कृषि व्यवसाय र पर्यटनको राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले कृषि र पर्यटन विकासका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा बुद्धिजीवी तिलकराम पौडेल, निर्वाचन प्रचारप्रसार समितिका संयोजक नलबहादुर राना, नेपाली कांग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डे, पाल्पा जिल्ला सदस्य सचिन बिष्ट, धनु रायमाझी, प्रकाश नेपाल, क्षेत्रीय सदस्य शंकर रायमाझी लगायतले २०३६ सालमा भएको बहुदल र निर्दलको निर्वाचनमा राजासँग मिलेर निर्दल रोज्ने नेपालका कम्युनिष्ट पार्टीहरू लोकतान्त्रिक हुनै नसक्ने बताउँदै लोकतन्त्रका लागि नेपाली काङ्ग्रेसको अर्को विकल्प नभएको बताएका थिए ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया