– चन्द्रकान्त खनाल
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको रुपन्देही जिल्लामा सरगर्मी बढेको छ । विभिन्न दलहरुले आन्तरिकदेखि खुल्ला भेटघाट गर्दै चुनावी प्रचारप्रसार तीव्र पारेका छन् ।
यसैबीचमा चुनावी प्रचारप्रसारको क्रममा रुपन्देही लोकतान्त्रिक गठबन्धनको निर्वाचन क्षेत्र नम्बर ३ ले सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणा पत्रमार्फत कम्युनिष्टहरूको गठबन्धनले मुलुकको राष्ट्रिय राजनीतिलाई नै अन्यौलतर्फ धकेलिरहेको अवस्थामा रहेको उल्लेख गर्दै भोलीका दिनमा देशको लोकतान्त्रिक संविधान कार्यान्वयन हुने विषयमा समेत शंका उत्पन्न हुने अवस्था सृजना भएको जनाइएको छ ।
प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीलाई बनाउनेदेखि बेलहिया–कोरला सीमा नाकासम्म आवातजवात गर्ने सडकको निर्माण गर्न विशेष पहल गरिनेसम्मका प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ ।
त्यस्तै, अगामी ३ वर्षभित्रमा यस क्षेत्रको शिक्षा दरलाई वर्तमान ७४ प्रतिशत बाट ९० प्रतिशत पुर्याइने, १२ कक्षासम्म निःशुल्क पठनपाठन गराइने, मोतिपुरमा शिक्षण अस्पताल स्थापना गर्ने, ३ वर्षमा यस क्षेत्रमा क्यान्सर डिटेक्सन सेन्टरको स्थापना गरिने, भिम अस्पतालाई स्तरोन्नती गरी अस्पताललाई ५० शैयाको बनाउनुका साथै २५÷२५ शैयाको नयाँ अस्पतालको व्यवस्था गरिने रुपन्देही ३ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले प्रतिबद्धता गरेका छन् ।
यस्तै मंगलापुर–रगरगंजहुँदै भैरहवा विमानस्थल पुग्ने सडकको निर्माण गर्ने, निम्नदरमा मल खादको व्यवस्था गर्ने तथा कृषकको जीवन उकास्ने नीति अपनाइने, गुनासो सुन्नको लागि निःशुल्क टोल फ्रि नम्बरको स्थापना गर्ने, हरेक घरमा इन्टरनेटको सेवा सुविधा इ–रिडिङको सुविधा तथा विभिन्न सीपपमूलक तालिमको व्यवस्था गर्ने, भैरहवा विमानस्थलको निर्माण कार्यमा भइरहेको ढिलासुस्तीका कारकतत्वको पहिचान गरी त्यस्ता बाधाहरूलाई हटाई छिटो–छरितो कार्यहरु गराइने, लुम्बिनीसम्म पुग्ने सम्पुर्ण बाटोलाई सुन्दरीकरण तथा हरभरा बनाइने, प्रत्येक वडामा एक व्यक्ति एक रुखको अभियानस्वरुप हरियाली वातावरण बनाउन पहल गर्ने लगायतका विषयमा सार्वजनिक गरिएको घोषणा पत्रमा उल्लेख रहेको छ ।
आयोजित पत्रकार सम्मेलनमा रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहराले विकास निर्माण तथा संविधानको कार्यान्वयन लोकतान्त्रिक गठबन्धनको जितको मूख्य आधार रहेको बताए । साविकको रुपन्देही क्षेत्र नम्बर २ मा आफुले र क्षेत्र नम्बर ३ मा बालकृष्ण खाणले गरेको विकास आफ्नो जितको अर्को प्रमुख कारण हुने तर्क गरे ।
प्रतिक्रिया