भकुण्डेका ३ सय घरमा ‘एक घर एक धारा’ जडान गरिने   

  भकुण्डेका ३ सय घरमा ‘एक घर एक धारा’ जडान गरिने   


बेसीशहर नगरपालिकाको वडा नम्बर २ भकुण्डेमा संचालन हुन लागेको खानेपानी आयोजनमा श्रमदान गर्न अमेरिकाबाट आएका १७ जनाको समूहलाई आइतबार भकुण्डेमा भव्य स्वागत गरिएको छ ।

स्थानीय खानेपानी आयोजनाका लागि अमेरिकाबाट आउनुभएका च्वाईस नेपालका संस्थापक ८३ बर्षीय डाक्टर जेम्स मेफिल्डको नेतृत्वमा रहेको १७ जनाको टिमलाई स्थानीयले नाचगानसहित भव्य स्वागत गरेका हुन् ।

टोलीलाई आमा समूह, बालकल्याण माविका शिक्षक तथा विद्यार्थी र स्थानीयबासीले गाउँमा संचालन हुन लागेको खानेपानी आयोजनाको लागि यति धेरै टाढाबाट श्रमदान गर्न आएकोमा खुसी हुँदै भव्य स्वागत गरेका हुन् । कार्यक्रममा स्थानीय आमा समूह, बालकल्याण र मनकामना माविका विद्यार्थीहरुले नाचगानसहित माला र टिका लगाएर टोलीलाई स्वागत गरेका थिए । स्वागतले सुखी भएका च्वाईस नेपालका संस्थापक ८३ बर्षीय डाक्टर जेम्स मेफिल्डको अमेरिकन टोली समेत आमा समुहसँगै छम्छमी नाचेको थियो ।

‘एलडिएस्सी’ तथा च्वाईस नेपालको १ करोड २० लाख सहयोग र स्थानीय साझेदारीमा संचालन हुन लागेको खानेपानी आयोजनाबाट वडा भित्रका भकुण्डे, धुपिचौर, थुम्का, च्यामिरे, आरुवोटे, डाँडाथोकलगायतका क्षेत्रका करिब ३ सय घर लाभाविन्त हुने अपेक्षा गरिएको छ । अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित रुपमा संचालन गर्न कूल ३ लाख ५० हजार लिटरको ३ वटा ट्याङ्की निर्माणगरी एक घर एक धाराको अवधारणलाई अगाडि बढाइने भएको छ ।

कार्यक्रममा च्वाईस नेपालका संस्थापक ८३ बर्षीय डाक्टर जेम्स मेफिल्डले स्थानीयको स्वागतले आफू धेरै खुशी भएको भन्दै सधैँ सकारात्मक र कल्याणकारी काममा लाग्न सबैसँग आग्रह गरेका थिए । स्वागत कार्यक्रममा च्वाईस नेपालका कन्ट्री डाईरेक्टर प्रतिक शर्माले सबै मिलेर आयोजना सम्पन्न गर्नुपर्ने बताउँदै आयोजना संचालन गर्नु पूर्व नै यो क्षेत्रसँग आत्मीय भावना बढेको बताए ।

भकुण्डे खानेपानी तथा उपभोक्ता सरसफाई समितिका अध्यक्ष गोविन्द खडकाको अध्यक्षतामा भएको कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा, नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष कृष्ण के.सी, स्थानीय आमा समूहबाट दुर्गा श्रेष्ठलगायतले स्वागत गर्दै आयोजना व्यवस्थित रुपमा सम्पन्न होस् भन्ने शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन बालकल्यण माविका शिक्षक एवं बुद्धिजीवि अमृत सुवेदीले गरेका थिए । अमेरिकाबाट आएको १७ जनाको टिमले ४ दिनसम्म आयोजना संचालन गर्ने क्षेत्रमा बसेर श्रमदान गर्ने कार्यक्रम रहेको छ । स्थानीय उपभोक्ताले पनि दैनिक रुपमा उनीहरुसँगै श्रमदान गर्ने कार्यक्रम रहेको उपभोक्ता समितिका सचिव वावुराम खड्काले बताए ।

कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य बुद्धिविक्रम शाही, बालकल्यण माविका प्रधानाध्यापक तीर्थ न्यौपाने, सहायक प्रअ भरत खड्का, च्वाईस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपाने, फिल्ड कोअर्डिनेटर भेस वोयन गोल जिसी, लेखापाल शसि शर्मा, जिल्ला संयोजक सुकराम दुलाल लगायत च्वाईस नेपालका टिम, आमा समूह, युवा क्लव, शिक्षक, विद्यार्थी र स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।