बहुप्रतिक्षीत निर्वाचनको तिथि जति नजिक हुँदैछ त्यति नै उम्मेदवारहरूका मुटुको ढुकढुकी बढ्दै छ । जसरी हुन्छ चुनाव जित्ने अभिलाषा राखेर चुनावी रण–मैदानमा होमिएका विभिन्न दलका उम्मेदवारबीच आपसी रस्साकस्सी बढेको छ । चुनावी प्रतिष्पर्धा पनि क्षेत्र–क्षेत्रमा रोचक देखिँदै गएका छन् भने कतिपय क्षेत्रमा चाहिँ अस्वस्थ प्रतिष्पर्धा र निर्वाचन आचारसंहिताका घटना पनि घटेका छन् ।
यसै सन्दर्भमा धादिङ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ उक्त क्षेत्रका उम्मेदवारका कारण विशेष चर्चामा छ । कुनैबेला एकै पार्टीमा अन्तरङ्गी बनेर रहेका दुई पात्र अहिले दुई अलग पार्टीबाट प्रतिष्पर्धामा उत्रिएका कारण शुरुदेखि नै यो क्षेत्र चर्चामा आएको हो । नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बनेका प्रभातकिरण सुवेदी ‘शिव’ र माओवादी केन्द्रका उम्मेदवार शालिकराम जम्कट्टेलबीच तीव्र चुनावी प्रतिष्पर्धा रहे पनि विस्तारै माहोल प्रभातकिरणको पक्षमा जान थालेको देखिएको छ । माओवादी परित्याग गरेर काङ्ग्रेस प्रवेश गर्ने राजनीतिक कार्यकर्ताको लहर चलेपछि यस्तो आँकलन गरिएको हो ।
गत सोमबार मात्रै उक्त क्षेत्रमा पर्ने सिद्धलेक गाउँपालिका वडा नम्बर ५ का प्रभावशाली स्थानीय माओवादी नेता एकबहादुर घले आफ्ना करिव दुई दर्जन सहकर्मीहरूसहित काङ्ग्रेस प्रवेश गरेका छन् । घले गत स्थानीयतहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार थिए ।
यसअघि पनि थुप्रै व्यक्तिहरू माओवादीबाट काङ्ग्रेस प्रवेश गरेका छन् । यसरी चुनावी माहोल काङ्ग्रेस र खासगरी प्रभातकिरणको पक्षमा देखिन थालेबाट माओवादी उम्मेदवार शालिकराम जम्कट्टेलमा छटपटी बढेको स्थानीय मतदाताहरू बताउँछन् । काङ्ग्रेसको पक्षमा जनमत बढेबाट अत्तालिएका जम्कट्टेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै यतिबेला गाउँमा खानेपानीका पाइपलगायत सामग्री वितरण गर्न थालेका छन् । स्थानीयवासीले चाहिँ चुनावको मुखमा पाइप बाँडेर विकासको ढोँग प्रदर्शन गरेको भन्दै उपहास गरेका बुझिएको छ ।

– एस. सुवेदी
प्रतिक्रिया