राजपा र संघीय समाजवादी एक हुने उपेन्द्रको दाबी

राजपा र संघीय समाजवादी एक हुने उपेन्द्रको दाबी


राजपाका राजेन्द्र महतो र संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादवबीच सम्बन्ध सुमधुर छैन । मौका मिल्नेवित्तिकै एकले अर्कोलाई राजनीतिक घोचपेच गर्ने गरेका यी दुई नेताको चर्तिकला राजनीतिमा चासो राख्ने सबैका लागि चाखको सन्दर्भ बन्दै आएको हो । यस्तोमा उपेन्द्र र राजेन्द्रको पार्टी एक हुने कुरा अलिक अप्ठ्यारै सुनिन्छ । तर, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकारप्राप्तिका लागि भएको तर्क गर्दै यो सफलतापश्चात् पार्टीगत एकताप्रति अगाडि बढ्ने उपेन्द्र यादवले खुलासा गरेका छन् । यो चुनावी तालमेलको शुरुवात भएको र यसले राम्रो संकेत दिएको भन्दै विस्तारै मधेशी एकताका लागि यो उदाहरणीय थालनी बन्ने समेत उनले तर्क दिएका छन् ।

आज राजविराजमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गर्दै संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेसीको सहभागिताका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले चुनावी तालमेल गरेको र यो सफल हुने दाबीसमेत गरे ।

उनले मधेशीको अधिकार प्राप्ति नभएसम्म मधेशीको लडाइँ समाप्त नहुने उल्लेख गर्दै मधेशी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेशीको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे । उनले कांग्रेस, एमाले र माओवादीले जति मीठो भाषण र आश्वासन दिए पनि मधेशी हितमा नभएको तर्क समेत गरे ।